
पूर्णपुष्टि, माघ २९ । काठमाडौंको कमलपोखरी स्थित शानदार मःम पसल ग्यास विस्फोटबाट घाईते भएका उदयपुरका एक युवक सहित दुई जनाको मृत्यु भएको छ । विस्फोटमा परी उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले र हेटौंडाका १८ वर्षीय रविन राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार दुवै जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । विस्फोटमा परी अन्य ९ जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।