Saturday, April 26News That Matters

शिक्षक आन्दोलनको बीचमा त्रियुगा नगरपालिकाद्वारा ठुलो संख्यामा शिक्षक सरुवा

पूर्णपुष्टि, चैत्र ३० । उदयपुरको त्रियुगा नगरपालिकाको शिक्षा समितिले ८१ जना शिक्षक तथा प्रधानाध्यापकहरूको सरुवा गरेको छ । स्थानीय शिक्षकहरू काठमाडौंमा आन्दोलनमा व्यस्त रहेको बेला नगरपालिकाले यो निर्णय गरेको हो ।

शुक्रबार बसेको कार्यपालिका बैठकले शिक्षक दरबन्दी मिलान समितिको २०८१ साल पौष १२ र १३ गतेको बैठकले प्रस्तुत गरेको सिफारिसलाई स्वीकृत गरेको हो । यस निर्णय अनुसार केही शिक्षकहरूलाई सहज स्थानबाट दुर्गम विद्यालयमा सरुवा गरिएको छ भने केहीलाई दुर्गम क्षेत्रबाट पायक पर्ने ठाउँमा ल्याइएको छ ।

जिल्लाकै उत्कृष्ट शिक्षकको रूपमा परिचित बालमन्दिर माविका प्रधानाध्यापक जंगबहादुर खड्का र रामजानकी माविका प्रधानाध्यापक पुन्य कार्कीलाई पनि अन्यत्र सरुवा गरिएको छ । यी दुवै शिक्षकहरूले आफ्ना विद्यालयहरूमा उल्लेखनीय शैक्षिक सुधार गरेका थिए र हाल काठमाडौंमा आन्दोलन कार्यक्रममा सहभागी छन् ।

एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा यो सरुवामा ठूलो रकमको चलखेल भएको आरोप लगाएका छन् । उनका अनुसार, केही सहायक प्रधानाध्यापकहरूलाई अवकास लिनुअघि नै प्रधानाध्यापक बनाउन विद्यालय परिवर्तन गरेर सरुवा गरिएको हो । धेरै शिक्षकहरूले पहुँच र पैसा खर्च गरेर आफूले चाहेको स्थानमा सरुवा पाएको चर्चा पनि चलिरहेको छ ।

नगरपालिकाको यस निर्णयको विरोधमा नेपाल शिक्षक महासंघ त्रियुगा नगर समितिका अध्यक्ष सन्तोष थापा र नेपाल राष्ट्रिय शिक्षक संगठन त्रिनपा नगर कमिटीका अध्यक्ष ग्रामबहादुर मगरले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा दरबन्दी मिलानको नाममा शिक्षक तथा प्रधानाध्यापकहरूलाई अपायक स्थानमा सरुवा गरेर मनोबल घटाउने काम भएको उल्लेख गर्दै यस निर्णयलाई तत्काल पुनर्विचार गर्न माग गरिएको छ ।

आन्दोलनमा गएका शिक्षकहरू यो खबर पाउनासाथ काठमाडौंबाट सदरमुकाम गाईघाट फर्कन लागेका छन् । उनीहरूले आफ्नो अचानक सरुवा भएको जानकारी पाएपछि तत्काल स्थिति बुझ्न र आवश्यक कदम चाल्न घर फर्कने निर्णय गरेको एक शिक्षकले बताए ।