
पूर्णपुष्टि, माघ २९ । त्रियुगा नगरपालिकामा शिक्षक महासंघ लगायत विभिन्न शिक्षक संघसंगठनले विद्यार्थीको पठनपाठनमा असर पर्ने भन्दै बरुवा बसपार्कमा हुन लागेको महोत्सव रोक्न माग गर्दै मंगलबार ज्ञापनपत्र बुझाएका छन् ।
शिक्षक संघसंगठनका प्रतिनिधिहरुले नगरप्रमुख बसन्त बस्नेत र उपमेयर महेश्वरी राईलाई बुझाएको ज्ञापनपत्रमा बेमौसमी मेला महोत्सव, सर्कस जस्ता गतिविधिले विद्यार्थीहरुको शैक्षिक गतिविधिमा नकारात्मक प्रभाव पार्ने जनाइएको छ । उनीहरुले महोत्सव आयोजना गर्नुपरे दसैं-तिहार जस्ता लामो बिदाको समयमा गर्न सुझाव दिएका छन् ।
ज्ञापनपत्र बुझ्दै मेयर बस्नेतले शिक्षक महासंघको चासोप्रति सकारात्मक रहेको बताउँदै सरोकारवालाहरुसँग छलफल गरी समाधान खोजिने प्रतिबद्धता जनाएका छन् । शिक्षक संघसंगठनले विद्यार्थीहरुको अध्ययन वातावरण सुधार्न महोत्सव स्थगित गर्न माग गरेका छन् ।