Wednesday, June 3News That Matters

शेर्पाहरुको ग्याल्पो ल्होसारको अवसरमा लिम्चुङबुङमा बौधमुर्ती स्थापना

पूर्णपुष्टि, फागुन १९
उदयपुर, फागुन १९ गते । ग्याल्पो ल्होसारको अवसरमा आज उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा बुद्धको मुर्ती स्थापनागरी अनावरण भएको छ । सबै जाती, धर्म र समुदायको धार्मिक आस्थाको सम्मान राख्दै आएको पालिकाले बौध धर्मावलम्बीको सम्मानमा शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा बुद्धमुर्ती स्थापना गरी अनावरणसमेत गरेको हो । शेर्पा समुदायको बाहुल्य बस्ती रहेको पालिकाको वडा नं. ३ नगरे गाउँमा करिब पाँचफिट ठूलो बुद्धमुर्ती स्तम्भमा राखेर अनावरण गरिएको पालिकाका लेखा अधिकृत ताराकिरण राईले जानकारी दिनुभयो ।

ल्होसारको विशेष कार्यक्रमसंगै पालिका अध्यक्ष मेजरकुमार राईले बुद्धमुर्तीको अनावरण गर्नुभयो । लिम्चुङबुङले सबै समुदायको भावनालाई सम्मान गर्दै यस्ता कामहरु गर्दै आएको अध्यक्ष राईले बताउनुभयो । कृषि र पर्यटनमा जोड दिदै आएको पालिकालाई नगरेमा स्थापना बुद्धमुर्तीले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पर्याउने विश्वास उहाँले ब्यक्त गर्नुभयो । नगरे गाउँ नजिकै ७२ फिट अग्लो लिम्चुङबुङ एभरेष्ट भ्यू–टावर १ नं. प्रदेशकै आकर्षक केन्द्र बनाउने उद्देश्यले निर्माण भइरहेको छ ।

नगरे गाउँ शेर्पा होमस्टे गाउँको परिकल्पना गरी त्यसको अभ्यास थालिएको ठाउँ हो । “पर्यटकहरुले होमस्टेमा बसेसंगै बुद्धको दर्शन गर्नेछन् र लिम्चुङबुङ एभरेष्ट भ्यू टावरबाट हिमालको दृष्यवलोकन गर्नेछन्” पालिका अध्यक्ष राईले भन्नुभयो “लिम्चुङबुङमा पर्यटकीय पूर्वाधार तथा संरचनाहरु दिगो र दुरगामी फाईदाका लागि निर्माण भइरहेका छन् ।”

सुनसरीबाट गतवर्ष पालिकामा ल्याइएको बुद्धमुर्ती र सो राख्ने स्तम्भ पालिकाको लगानीमा निर्माण गरिएको हो भने आवश्यक जनश्रमदान स्थानीय गाउँलेहरुले गरेको समुदायका अगुवा गञ्जु शेर्पाले बताउनुभयो । बुद्धमुर्ती स्थापनाले गाउँ नै उज्यालो भएको उहाँले बताउनुभयो ।

“गाउँ हामीले गर्ब गर्न लायक बनेको छ” उहाँले भन्नुभयो “हामीलाई गाउँमै बसेर विकासमा अघि बढ्ने उर्जा मिलेको छ ।”पालिकाको सहयोग तथा नेपाल शेर्पा संघ, लिम्चुङबुङ–३ नगरेको आयोजनामा २१४९ औं छ्यू फो ताक ल्हो ग्याल्पो ल्होसारको भब्य आयोजनासंगै बुद्धमुर्ती स्थापना गरिएको हो । त्यस अवसरमा शुभकामना आदान–प्रदानका साथै शेर्पा समुदायको विशेष परिकारसहितको खानामेला तथा जातीय सांस्कृतिक कार्यक्रम भयो ।