
पूर्णपुष्टि, जेठ १८ गते ।
मोरङको उर्लाबारी नगरपालिका–४ मा श्रीमानको छुरा प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । मादक पदार्थ सेवन गरेर ४० वर्षीय सुमन महराले ३५ वर्षीया कुमारी हहरालाई सोमबार राति ९ बजेतिर छुरा प्रहार गरेको हो ।
मापसे गरेर घर आएका सुमनले पारिवारिक विवादपछि पत्नीको पेटमा अन्धाधुन्ध छुरा हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार हुन नसकेपछि घाइते कुमारीलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा ल्याइएको छ । पत्नीलाई छुरा हान्ने सुमनलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सुमन सधैँ मापसे गरेर आउने र घरमा झैझगडा गर्ने गरेको खुलेको छ । उनीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा चलाउने तयारी गरेको छ ।
