Sunday, May 17News That Matters

संक्रमितको बढ्दो मृत्युदरले शव व्यवस्थापनामा समस्या, बाग्मती किनारमै जलाउन थालियो

पूर्णपुष्टि, बैशाख २०

कोरोना संक्रमितहरुको दिन प्रतिदिन बढ्दो मृत्युदरका कारण शव व्यवस्थापनमा समस्या भएको छ । उपत्यकामा शव व्यवस्थापनको समस्या भएपछि बाग्मती किनारमा शव जलाउन थालिएको छ ।

विद्युतीय शव दाहगृहमा एउटा शव व्यवस्थापन गर्न डेढ घण्टा लाग्छ । व्यवस्थापन गर्नुपर्ने शव बढ्दै गएपछि विद्युतीय शवदाह गृहबाट मात्र सम्भव नहुने भन्दै सेनाले बाग्मती किनारमा नै शव जलाउन थालेको हो । संक्रमितको शव व्यवस्थापनका लागि सेनाले शवदाह गृह नजिकै वाग्मती नदी किनारमा ८ वटा चिता बनाउने तयारी गरेको छ ।

संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नुपरेको छ ।

आइतबार नेपाली सेनाले ३१ वटा शव व्यवस्थापन गरेको थियो । सोमबार दिउँसो २ बजेसम्म २७ वटा शव व्यवस्थापनका लागि अनुरोध आएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । उनका अनुसार वैशाख १६ गते २३ तथा १७ र १८ गते २६÷२६ जनाको शव व्यवस्थापन गरिएको थियो ।

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमा मात्र व्यवस्थापन गर्न नसक्ने भएपछि नजिकै वाग्मती नदी किनारमा पनि जलाउन थालिएको छ । ‘दिनमा २० देखि ३० वटा शव व्यवस्थापन गर्नुपर्ने हुन्छ, विद्युतीय शव दाह गृहबाट मात्र सम्भव नहुने भएकाले पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरेर बाहिर पनि जलाउन थालिएको हो’ सैनिक प्रवक्ता पौडेलले भने ।