पूर्णपुष्टि, भदौ २ । उदयपुरको सदरमुकाम गाईघाटस्थित सगरमाथा कृषि उपज बजार सञ्चालक समितीको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन रोक्न नगरपालिकाले पत्रचार गरेपनि समितिले आजै आयोजना गरेको छ ।
कार्यक्रमको सबै तयारी र पत्रचार भइसक्दा एक्कासी हिजो स्थगितको पत्र आएपछि समिति र आम ब्यापारीको मत अनुरुप साधारण सभा तथा अधिवेशन गरिएको अध्यक्ष दुर्गानन्द चौधरीले बताए । नगरपालिकाले समितिबाट आम्दानी प्राप्त नभएको भन्दै गत असार १० गतेको नगरसभाबाट पुरानो गाईघाट हवाईफिल्ड स्थित कृषि उपज बजार ठेक्का लगाउने निर्णय गरेको पत्रमा उल्लेख गरेको छ । नगरपालिकाको निर्णयप्रति असन्तुष्ट समिति र ब्यापारीहरुले पूर्वाग्रही ब्यवहार भएको आरोप लगाएका छन् । कृषि बजार ब्यवस्थापन जिम्मेवारी, भुमिका र दायित्वबाट पन्छिदै आम्दानी मात्र खोजेको आरोप उनीहरुको छ । बढि आम्दानी लिने नाममा ब्यापारीहरुलाई मारमा पार्न खोजेको आरोप छ ।स्थानीय तह हुनु अघि नै सात राजनीतिक दलको सर्बदलिय सहमतिमा उक्त कृषि उपज बजार सञ्चालन तथा ब्यवस्थापन भएको हो । त्यहाँका तरकारी ब्यापारीहरुका अनुसार सर्बदलीय सहमती अनुसार कृषि बजारलाई सोही ठाउँमा एकिकृत गरी बजारको अन्य ठाउँका सबै हटाउने भन्ने थियो । तर हालको नगर जनप्रतिनिधिले फलफुल बजारको नाममा ११ नं. वडाध्यक्षको निजी जग्गामा तरकारी बजार सारेको र बजारभरी यत्रतत्र राख्न दिएपछि तोकिएको कृषि उपज बजार प्रभावित बनेको उनीहरुको भनाई छ । बजारमा जताततै तरकारी पाउने भएपछि ग्राहक कमि भएपछि नियमित भाडा तिर्दै आएको ब्यापारीहरुले तिर्न छाडेको समितिका अध्यक्ष चौधरीले बताए । सोही कारण नगरपालिकालाई तिर्न केही रकम बाँकी रहेको उनको भनाई छ । कार्यक्रममा मेयर, उपमेयर, वडाध्यक्ष लगायत आउने भनिएकोमा कोही आएनन् । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएको छ ।