
पूर्णपुष्टि, साउन २४ गते ।
मोरङको सन्दरहरैचा नगरपालिका–८ मा रोकिराखेको कन्टेनरभित्र एक पुरुषको शव फेला परेको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा कन्टेनरभित्र आन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको हो ।
चार दिनदेखि सडक किनारमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएको प्रहरीले बताएको छ । मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।
प्रहरीका अनुसार चालकसँगैको अर्को सिटमा शव रहेको र कन्टेनरको ढोका भित्रबाट लक गरेको थियो ।
त्यस्तै, मोरङको बेलबारी नगरपालिका–३ स्थित न्यू पाथीभरा बरफ फ्याक्ट्रीमा अन्दाजी २७–२८ वर्षीय युवक मृत फेला परेका छन् । खाना खाएर फ्याक्ट्रीका अन्य कामदारसँगै राति सुतेका विशाल राई ओछ्यानमै मृत भेटिएको प्रहरीले बताएको छ ।
शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले बताए ।

