पूर्णपुष्टि/उदयपुर, मंसीर २८ गते ।
सडक डिभिजन कार्यालय र ठेकेदारको चरम लापरवाहीले सम्झौता भएको ६ बर्षमा पनि पुल निर्माण हुन नसक्दा सर्बसाधारणले सास्ती खेपिरहेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ६ बगाहास्थित फर्सेठ खोलाको पुलमा सडक भिडिजन कार्यालय लहान र ठेकेदारको चरम लापरवाहीले लामो समय गुज्रिदा पनि पुल बन्न नसकेको हो ।
सगरमाथा लोकमार्गको कदमाहा गाईघाट सडक खण्डको बगाहामा पर्ने सो पुलको काममा सम्बन्धीत ठेकेदार कम्पनी बि.पि÷बहादुर थिङ जे.भी.ले समयमा काम नगर्ने, कामदार नखटाउने, खटाएकालाई परिश्रमिक नदिने, सामान ढुवानी नगर्ने, पुरै वेवास्ता गरेर चरम लापरवाही गरेको र सडक भिडिजनले त्यसलाई अनुगमन, निरिक्षण गरेर रोक्नको सट्टा उसले पनि ठोस कारवाही नगरेर उल्टै सहयोग गरेकाले पुलको काम लथालिङ अवस्थामा पुगेको हो । ठेकेदारको चरम लापरवाही र नियमन निकाय सडक भिडिजनको मौनसमर्थनका कारण पुलको काम पुरा नहुदा स्थानीयले पाउनसम्म दुख पाएका छन् । यातायात व्यवसायी पनि हैरान परेका छन् । पुलको काम सुरु पछिको अवस्थामा हरेक बर्षामा फर्सेटको भेल, बाढीले यातायात ठप्प हुनेमात्र नभई तर्ने क्रममा एक स्थानीयले ज्यान समेत गुमाउनु परेको स्थानीय विष्णुबहादुर राउतले बताउनुभयो ।
लापरवाहीका कारण पुल निर्माण सामग्रीहरु खिया लागेर, पानीले भिजेर नष्ट भएका छन् भने सुरक्षा नहुदा थुप्रै सामानहरु चोरीसमेत भएको स्थानीयहरु बताउछन् ।
कुल ५ करोड, ८ लाख, २ हजार ९०४ रुपैया लागत स्टिमेटमध्ये ३ करोड, ७० लाख, २२ हजार २३८ रुपैयामा ठेक्का लागेको थियो । निर्माण कार्य सुरु मिति २०६८ असार ३१ रहेको पुल २०७० असार २० मा सम्पन्न गर्नुपर्ने सम्झौता हो । पछि फेरी २०७२ जेठ १५ सम्मका लागि म्याद थपिएको थियो । तर म्याथ थपिएर यति आउदासम्म पनि पुलको निर्माण कार्य पुरा भएको छैन ।
सुरुको अवधिमा काम थाले जस्तोमात्र गरेको कम्पनीले पछि म्याद थपिएको अवस्थामा पुलको आधा भागको ढलानसम्म गरेको छ भने अर्को आधा भाग अधुरै छ । त्यहाँको पुलको अधुरो कामले विगत ६ बर्षदेखि सिंगो देशको विधी, विधान, कानूनको खिल्ली उठाई रहेको छ भने नियमन निकाय र सरकारको चरम लापरवाही र वेवस्ताको नमुना प्रस्तुत गरिरहेको स्थानीय महेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।
पुल निर्माणमा चरम लापरवाहीलाई स्थानीय प्रशासन, जिल्ला समन्वय समिति, त्रियुगा नगरपालिकाले पनि गम्भिररुपमा लिएको छ । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियारले सडक भिडिजनले ठेकेदार कम्पनीलाई सामान्य पत्र काट्नेदेखि लिएर ठोस कारवाहीको कदम नचालेको र डिभिजन कार्यालय प्रमुख, उसले खटाउने साईड इन्जिनियरले कामप्रति चासो नदेखाइ, साईडमा नखटी तलब मात्र खाएको देखिएको बताउनुभयो । चरम लापरवाही र गम्भिर गल्ती गरेपावत ठेकेदार कम्पनीलाई कालो सूचीमासमेत राखेर कडा कारवाही गर्नुपर्नेमा सामान्यरुपमा छाडिनुले उसको समेत मिलेमतो रहेको उहाँले बताउनुभयो ।
ठेकेदार कम्पनीका निर्माण व्यवसायीको आन्तरिक विवादले समस्या आएको स्वयम् निर्माण व्यवसायी प्रेमबहादुर राईले बताए । राईसहित फौदबहादुर पाण्डे, श्याम पोखरेल र बहादुर थिङ गरी चारजनाको बराबरी सेयर रहेको उक्त ठेक्कामा कामको मुख्य जिम्मा लिएको पाण्डेले पेश्की रकम १ करोड ६० लाख लिएर काम गर्नुको सट्टा आर्थिक तथा निर्माण काममा लापरवाही गरेपछि पुलको समस्या बढेको उहाँको भनाई छ । पाण्डेले बदमासी गरेपनि बाँकी रकम १ करोड ८१ लाख रकम डुब्न नदिन र कम्पनीलाई कालोसूचीबाट जोगाउन अन्य सबै सेयरवालाको सल्लाहमा म्याद थप पछिको अवस्थामा आफुले लगानी गरी पुल निर्माणको काम अगाडी बढाएको राइले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेलले ठेकेदारको चरम लापरवाहीलाई नियमन निकाय डिभिजन कार्यालयले वेवास्ता गरेर थप चरम लापरवाही गरेको पाईएको, अवका दिनमा यस्तो हुन नदिइने बताउनुभयो ।
स्थानीय प्रशासन, जिल्ला समन्वय समिति, त्रियुगा नगरपालिका र स्थानीयबासीन्दाले सडक डिभिजन र ठेकेदारको चरम लापरवाही भएको ठहर गर्दै गत आईतबार (मंसीर २४ गते) विशेष अनुगमन गरेको छ । भर्खरै आउनुभएका प्रजिअ कटेल र जिल्ला समन्वय समिति प्रमुख परियारको विशेष पहलमा त्रियुगा नगरपालिका, जिल्ला प्रहरी कर्यालय लगायतका सुरक्षा निकाय तथा सरोकारवाला निकायहरुको सहभागितामा पुलको अनुगमन तथा छलफल गरिएको थियो । कार्यक्रममा सडक भिडिजन कार्यालय लहानका प्रमुख रामकुमार देव र ठेकेदार कम्पनीका प्रमुखलाई विशेषरुपले बोलाईएकोमा दुबै जना अनुपस्थित भए । डिभिजन प्रमुख देवले साईड इन्जिनियर सोभितलाल ठाकुरलाई र ठेकेदार कम्पनीले प्रेमकुमार राईलाई प्रतिनिधिको रुपमा खटाएको थियो । ठेकेदारको प्रतिनिधिको रुपमा खटिएका व्यवसायी प्रेमकुमार राईले पार्टनर पाण्डेले फर्सेट खोलाको काम पुरै जिम्मेवारी लिएपनि पेश्कीरकम लिएर रकम हिनामिना र काम लथालिङ पारेकोले आन्तरिक विवाद बढेको बताए । डिभिजन कार्यालयका प्रतिनिधि इन्जिनियर सोभितलाल ठाकुरले ठेक्काको सम्झौता, सम्पन्न मितिको सामान्य विवरण पढेर सुनाउन बाहेक केही बोल्न सकेनन् ।
सर्बपक्षिय उक्त अनुगमनले बैंठककै रुपमा पुल निर्माणमा भएको चरम लापरवाहीलाई अवका दिनमा कडा निगरानी गरी पुल निर्माणतर्फ ध्यान केन्द्रित गर्ने र ठेकेदार कम्पनी र सडक डिभिजनले सात दिनभित्रमा गल्ति सच्याउदै निर्माण कार्यमा नलागे कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गर्ने र सडक भिडिजनका प्रमुख लगायतका कर्मचारीलाई विभागिय कारवाहीका लागि कदम चाल्ने निर्णय भयो । लिखितरुपमै निर्णय गरेको अनुगमन टोलीले खर्च अनुसार काम प्रभावकारी नदेखिएको, ठेकेदारबाट समयमै काम सम्पन्न हुन नसकेको, डिभिजन कार्यालयबाट हुनुपर्ने पत्राचार, सार्बजनिक सूचना लगायतका पर्याप्त कारवाही हुन नसकेको ठहर गरेको छ । निर्माण कार्यको ठेकेदारसंगको मुख्य सम्झौता, बैंक ग्यारेण्टी लगायतका कागजातहरुको विवरण सडक भिडिजनले जिल्ला समन्वय समिति र त्रियुगा नगरपालिकालाई तुरुन्त उपलब्ध गराउने, हालसम्म तोकिएका सईड इन्जिनियरहरुको विवरण पठाउन पनि माग गरिएको छ ।
ठेकेदार र डिभिजन प्रतिनिधि दुबैले बैंठक बमोजिमकै सर्तमा रहेर अगाडी बढ्ने र सातदिनभित्रमै सबैकुरो मिलाएर काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।