Sunday, February 16News That Matters

सदस्य सचिव विष्टलाई ताली दिनेहरुले गाली दिन थाले

पूर्णपुष्टि, कात्तिक १२ गते ।

उदयपुर–खेलकुद विकास परिषद्का सदस्य सचिव केशब विष्टले छ महिनामा व्याड्मिन्टन कवर्डहल निर्माण गर्ने भनी गरेको प्रतिबद्धता नौं महिना वितिसक्दा पनि अधुरै बनेको छ ।

चौथो उदयपुर गोल्डकपको उद्घाटनको सिलसिलामा गतबर्षको माघमा आएका सदस्य सचिव विष्टले जिल्ला खेलकुद विकास समितिको कार्यालय परिषरकै खाली जग्गामा कवर्डहलको सिलान्यास गर्दै छ महिनामा निर्माण सम्पन्न गर्नेगरी ३० लाख रुपैया बजेट विनियोजनको प्रतिबद्धता गरेका थिए । सिलान्यास समारोहमा प्रतिबद्धता गरिरहदा सबैको ताली खाएका विष्टले भने अनुरुप प्रतिबद्धता पुरा नगरेपछि आजभोली गाली पाउन थालेका छन् ।

जिल्ला व्याड्मिन्टन संघ र जिल्ला खेलकुख विकास समितिको पहलमा निर्माण गर्न लागिएको व्याड्मिन्टन कवर्डहल, ३० लाख बजेट मध्ये तत्काल १० लाख उपलब्ध गराई बाँकी रकम क्रमिकरुपले उपलब्ध गराई छ महिनाभित्रमा निर्माण पुरा गर्ने सदस्य सचिव विष्टले बचन दिएका थिए । तर बल्लतल्ल ५ लाख रुपैया विनियोजन भएको निर्माण समितिका अध्यक्ष राजेश कार्कीले बताए । बजेटको लागि पटक पटक पहल गर्दा पनि बोले अनुरुप बजेट पाउन नसक्दा निर्माण अधुरो भएको उनले बताए । बजेट आउने विश्वासमा ऋण काढेरै भएपनि निर्माणको काम थालिएकोमा पाँचलाख मात्र आएपछि बजेट अभावको चरम समस्या झेल्नु परेको अध्यक्ष कार्कीले बताए । हालसम्म कवर्डहलको केही फिट इटा पर्खाल लगाएर टिनले बार्नेगरी ट्रष्ट्र उठाइएको छ । त्यस्तै टिनकै छानो लगाउने गरी ट्रष्ट्र जोडिएको छ । त्यस बाहेकका अन्य कामहरु बजेट अभावले अधुरै रहेको उनले बताए ।

यस विषयमा सदस्य सचिव विष्टले व्याड्मिन्टन कवर्डहलका निम्ति भुइ ढलान बाहेकका कामका लागि थप १५ लाख रुपैंया बजेट थप बिनियोजन गरि दिइने बताए । तर चुनाव लागीसकेकाले चुनावपछि मात्र बजेट उपलब्ध गराइने बताए । साह्रै समस्या परेको खण्डमा केही बजेट मिलाएर दिन पनि सकिने उनको भनाइ छ । उनले आफुले ३० लाख नभएर २० लाख बजेट बिनियोजन गर्ने प्रतिबद्धता गरेको बताए ।

जिल्ला खेलकाद विकास समिति उदयपुरका अध्यक्ष पुष्प विकले केन्द्रबाट बजेट पठाउने कुरा आएको तर कहिले र के कति पठाउने हो भन्ने बारेमा भने आधिकारिक जानकारी नआइसकेको बताए ।