
पूर्णपुष्टि, फागुन २५ । सप्तकोशी नदीमा हामफालेर एक युवकले आइतबार बिहान आत्महत्या गरेका छन् । सुनसरी धरान १५ का ४५ वर्षीय दुर्गाप्रसाद कुरुङ बाङ्ग लिम्बूले बिहान ८ बजेतिर उदयपुर र सुनसरीको सीमामा रहेको कोशी पुलबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
स्थानीय सन्वीर राईका अनुसार लिम्बूले पुलको छेउमा आफ्नो स्कुटर र चप्पल छोडेर कोशीमा हामफालेका थिए । घटनाको प्रत्यक्षदर्शी स्थानीयहरूले तत्कालै प्रहरीलाई खबर गरेपछि खोजी कार्य सुरु गरिएको थियो ।
खबर पश्चात तत्काल खटिएको प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा केही घण्टाको खोजीपछि लिम्बूको शव बिहान १० बजे कोशी नदीबाट निकालिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिम्बूले किन आत्महत्या गरे भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।