पूर्णपुष्टि,पुष २० । सप्तरीको कञ्चनपुर नगरपालिका स्थित बोक्सीको आरोपमा कपाल मुण्डन गरेको कसुरको मुद्दा दर्ता गर्न प्रहरीले आनाकानी गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले मुद्दा दर्ता गर्न आनाकानी गरेपछि पीडित पक्षले सप्तरी–२ का सांसद डा. सिके राउतको कार्यालयमा गएर गुनासो गरेका छन् ।
कञ्चनपुर नगरपालिकामा करिब ४५ वर्षीय महिलालाई बोक्सीको आरोप लगाएर कपाल मुण्डन गरिएको थियो । आफूलाई बोक्सीको आरोप लगाएर कपाल काटेको भन्दै पीडित महिला प्रहरीकहाँ पुगेकी थिइन् । सप्तरीका एसपी अभिनारायण काफ्लेले सो घटना अन्देखा गरेपछि पीडित डा. राउतको कार्यालयमा पुगेकी थिइन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले भने बोक्सी आरोपमा सो घटनाको जाहेरी दर्ता गरिएको सिंहले बताए । उनले भने–‘रित पुर्वक जाहेरी नल्याएको हुनाले ढिला भएको हो, अहिले दर्ता गरेर अनुसन्धान गरिरहेका छौं ।’
आरोपीहरुले कुटपिट गरेको चोटसहित पीडित प्रहरी कार्यालयमा पुग्दा पनि प्रहरीले बेवास्ता गरेको आरोप छ । डिएसपी सिंहले पीडीतलाई तत्काल घाउ जाँच फारम भरेर मेडिकल गर्न पठाएको दाबी गरेका छन् ।
