
पूर्णपुष्टि/उदयपुर, मंसीर १९ गते ।
मंसीर २१ मा हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश शभाको निर्बाचनका लागि दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको उदयपुरका सबै मतदान केन्द्रहरुमा मंगलबारदेखि मतदाता परिचय पत्र वितरण तथा मतदाता शिक्षा दिने कार्य सञ्चालन भएको छ ।
मूख्य निर्वाचन अधिकृत टेकेन्द्रप्रसाद शर्माका अनुसार दुईसय ३३ वटा मतदान केन्द्र रहेको उदयपुरमा सबै मतदान केन्द्रहरुमा मतदाता अधिकृतसहितका कर्मचारीहरु, सुरक्षाकर्मी र मतदानका सामग्रीहरु पुगेसंगै मतदाता परिचय पत्र वितरणका कार्य सन्चालन भएको हो । उदयपुरको क्षेत्र नं. १ अन्तर्गत रहेका एकसय वटा मतदान केन्द्र र क्षेत्र नं. २ मा एकसय ३३ वटा मतदान केन्द्र रहेकोमा ती सबै दुबै क्षेत्रका केन्द्रहरुमा मंसीर २१ गतेको मतदान कार्यका लागिसमेत अन्तिम तयारी भएको उहाँले बताउनुभयो । निर्बाचनका लागि जिल्लाभरमा एकहजार ८ सय ६४ जना कर्मचारीलाई नियुक्ती दिइ खटाइएको र नौं सय ३२ जना स्वयम्सेवकहरु खटाइएको वहाँले जानकारी दिनुभयो ।
उहाँले केही दिनअघिसम्म बम विष्फोटका घटनाहरुले सुरक्षा चुनौती देखिएपनि पछिल्लो समय जिल्लाभर नै शान्तिपूर्ण मतदानका लागि वातावरण बनेको बताउनुभयो । मतदानका लागि मतदाताहरुमा उत्साह देखिएको पनि उहाँले बताउनुभयो ।
यसैबीच प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था मिलाईसकिएको जानकारी दिनुभयो । उहाँले विशेष सुरक्षा व्यवस्थाका साथ सबै मतदान केन्द्रहरुमा मतदान सामग्री पठाइएको जनाउनुभयो । पहाडी र दुर्गम क्षेत्रमा मंगलबारभित्रमै मतपत्र सुरक्षाघेराका साथ पठाइसकिएको र सदरमुकाम क्षेत्रका केन्द्रहरुा बुधबार पुर्याईने बताउनुभयो । जिल्लाको जिल्लामा ढुक्कले मतदान गर्ने वातावरण रहेको बताउनुभएको छ । सुरक्षाका सबै संयन्त्रलाई परिचालन गरि सुरक्षा व्यवस्था मजबुद पारिएको उहाँले बताउनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र विशेष प्रहरीलाई विशेषरुपले तैनाथ गराई जिल्लाभरी नै समेटिने गरी विभिन्न सुरक्षा रणनीति प्रयोग गरी सुरक्षा व्यवस्था मजबुद पारिएको उहाँले बताउनुभयो ।
यसैबीच मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले मंगलबार परिचय पत्र वितरणका साथै मतबाकस, स्वस्तिक छाप लगाउने गोप्य ठाउँ, लाईन बसाउने, प्रतिनिधि, कर्मचारी बस्ने व्यवस्थित ठाउँको व्यवस्था मिलाएका छन् ।
केन्द्रहरुमा मतदाताहरुले आप्mना फोटोसहितको मतदाता परिचय पत्र लिन आउने र मतदानका लागि उत्साह देखाउने गरेको त्रियुगा नगरपालिका १० स्थित बालमंदीर मतदानस्थानको मतदान केन्द्र ख का मतदान अधिकृत निर्मला कार्कीले बताउनुभयो । यसपटकको निर्वाचनमा महिला मैत्री उक्त केन्द्रमा कर्मचारी सबै महिला खटिएका छन् भने प्रहरी सहायक निरिक्षक उमा गुरुङको नेतृत्वमा महिला सुरक्षाकर्मी खटिएका छन् । सो स्थानमा स्थानीय निर्वाचनमा पनि महिलामैत्री मतदान केन्द्र स्थापना गरिएको थियो ।
यसैबीच प्रजिअ कँडेलले सोमबार राती १२ बजेदेखिको लागु भएको मौन अवधीपछिको अवस्थामा आचारसंहिता उलंघनका केही घटनाहरु घटेका बताउनु भयो ।
माईकिङ गर्ने, भेला गर्ने जस्ता केही मौन अवधिको उलंघन हुने गतिविधिहरु भएको उहाँले बताउनु भयो । त्यस्ता उलंघनका कार्यहरु भएको पाईए लगत्तै सम्बन्धीत राजनीतिक दलका नेता तथा उम्मेदवारलाई सचेत गराईएपछि उनीहरुले नै नियन्त्रण गरेकोले सुरक्षा बल प्रयोग गर्नु नपरेको उहाँले बताउनु भयो । “उलंघनका छिटफुट घटनाहरु भएका छन्, स्वयम् उम्मेदवारहरुले नै नियन्त्रण गरेकाले सुरक्षा वल प्रयोग गर्नु भने परेको छैन ।” प्रजिअ कँडेलले भन्नुभयो ।