
पूर्णपुष्टि, साउन ४
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा एकता महाधिवेशनको प्रस्ताव गरेकोे छ । पार्टीमा देखिएको विवाद समाधान गर्न प्रधानमन्त्रि तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता महाधिवेशनको समान धारणा राख्नुभएको हो ।
प्रधानमन्त्री निवासमा शनिबार बसेको सचिवालय बैठकमा एकता महाधिवेशनले अहिलेको समस्या समाधान गर्न सक्ने समान धारणा राखिएको छ । त्यसका लागि थप गृहकार्य गर्ने सहमति भएको जनाइएको छ । समस्याको समाधान गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले राष्ट्रको आवश्यकता के हो ? त्यो सम्बोधन हुुनेगरी पार्टीको आन्तरिक सङ्कट सहमतिका आधारमा कसरी समाधान गर्ने भन्ने विषयमा दुवै अध्यक्षबीच छलफल भइरहेको छ । यो बैठकले पनि अझै छलफल गर्न दुवै अध्यक्षलाई जिम्मेवारी दिएको जनाईएको छ ।
पार्टी एकताको रक्षा गर्ने, सुदृढ गर्ने, नेपाली समाजको आवश्यकता के हो ? त्यसको सम्बोधन गर्न जनताले जनादेश दिएकाले सोही अनुसार नै काम गर्ने र पार्टीमा देखिएको सङ्कट समाधान गर्नेगरी अगाडि बढ्ने सहमति भएको तथा त्यसको निकास अध्यक्षद्वयले दिनेगरी जिम्मेवारी दिइएको बताइएको छ ।
पार्टीमा निकास दिनेगरी छलफल जारी छ । पूर्व निर्धारित कार्यक्रम अनुसार नै आइतबार स्थायी कमिटीको बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
दुवै पदबाट राजीनामा दिनुपर्ने विषय औपचारिक रूपमा बैठकमा नआएको प्रवक्ता श्रेष्ठले प्रस्ट पार्दै नेताले बैठकमा आफ्नो विचार राख्ने क्रममा आएका कुरा मात्रै रहेको जानकारी दिनुभयो । केही दिनदेखि दुई अध्यक्षबीच पटक पटक छलफल भएको छ । तर कुनै निकास निस्केको छैन । शनिबारको सचिवालय बैठकले दुवै अध्यक्षबीच छलफल गरेर पार्टीको आन्तरिक विवाद समाधान गर्नेगरी निकास दिन सुझाव दिएको छ ।
