
पूर्णपुष्टि/उदयपुर, जेठ २३ गते
-दक्षिण कोरियाली राजदुत पार्क योङ सिकको विशेष उपस्थितिमा नेपाल घरेलु तथा साना उद्योग महासंघको नवौं जिल्ला साधारण सभा तथा जिल्ला महिला उद्यमी भेला कार्यक्रम विशिबार गाईघाटमा हुने भएको छ ।
महासंघको २९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई प्रतिनिधिसभा सांसद नारायण खड्का र राजदुत सिकले विशेष संबोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महासंघका केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीसमेतको उपस्थिति रहने कार्यक्रम संगै विविध घरेलु तथा लघु उद्यमीहरुको उत्पादनहरुको प्रदर्शनीसमेत रहने महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले बताए ।
समृद्धिको सन्देश लिएर मंगलबारनै उदयपुर टेकेका राजदुत सिक बुधबार गाईघाटमा विविध कार्यक्रममा व्यस्त रहे । नगरपालिकाको आयोजनामा होटल वल्र्डदरवार बोक्सेमा उदयपुरको समग्र विकासका लागि अन्तरक्रिया तथा भेटघाट कार्यक्रम भयो । राजदुत सिकले उदयपुरमा गठन भएको नेपाल द. कोरीया मैत्री संघको उद्घाटनसमेत गर्नुभयो ।
गाईघाटस्थित त्रियुगा उच्च माविले राजदुत सिकलाई स्वागत गरेको थियो । सो क्रममा द. कोरियाको विकासक्रमलाई समेटिको भिडियो डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । सन् १९५० अधिसम्म द. कोरियाको अवस्था नाजुक रहेकोले पछिल्लो ५० वर्षको अवधिमा ठूलो परिवर्तन आएको अवस्थालाई चित्रण गरिएको थियो । श्रम र मेहनतकै कारण द. कोरिया हिजो गरिबीको अवस्थाबाट उक्सेर अरु देशलाई सहयोग गर्न सक्ने हैसियतमा पुगेको राजदुत सिकले बताएका थिए ।