Sunday, March 15News That Matters

सरकारको जिरो लगानीमा युवाहरूले बाघचौरीमा गरे बाघको प्रतिमा निर्माण

पूर्णपुष्टि/उदयपुर ११ फागुन, २०८२
जेनजी आन्दोलनपछि जागरुक बनेका उदयपुरको त्रियुगा नगरपालिका -८ खाटमन्दिर बाघचौरीका युवाहरूले उदाहरणीय काम प्रस्तुत गरेका छन् ।
खाटमन्दिर चौक सचेत युवा समूहले आफ्नो ठाउँको नाम र शान उच्च बनाउन बाघको प्रतिमा निर्माण गरी आज उद्घाटन गरे । बाघ जङ्गलको गहना, संरक्षित जनावर हो । यो संगै बाघकै नामबाट आफ्नो ठाउँको नामाकरण बागचौरी रहेकाले<span;> युवाहरूले आफ्नै पहल प्रयासबाट बाघको प्रतिमा  निर्माण गरेर उदाहरणीय काम प्रस्तुत गरेका हुन् ।
बाघचौरीमा बाघ निर्माण गर्ने काम र सोचलाई युवाहरूले पूरा गरेका हुन् । बाघको प्रतिमा निर्माणले गाउँको नाम र गाउँको शोभा थप झल्किएको जेनजी युवा अगुवा निमेश राईले बताए ।
सरकारको एकै रुपैयाँ लगानीबिना युवाहरूको पहल तथा अगुवाइमा बाघको प्रतिमा निर्माण गरिएको हो ।  स्थानीय तथा देशविदेशमा रहेका युवा तथा सहयोगी मनहरूको आर्थिक सहयोगबाट २ लाख ३४ हजार ७ सय ७९ रुपैयामा बाघको प्रतिमा निर्माण भएको हो । सरकारी लगानी र योजनामा गर्नुपरेको भए कम्तीमा १५ लाखभन्दा बढी लाग्ने कामलाई युवाहरूले आफै श्रमदानमा खटिएर कम लगानीबाट निर्माण गरेका हुन् । आवश्यक सामग्रीहरू खरिदका लागि लगानीबाहेकका श्रमदानबाट हुनसक्ने सबै काम युवा तथा स्थानीयवासीले आफै खटेर गरेका हुन । ३ महीनाको समय अवधिमा नै युवाहरूले आर्थिक सहयोग संकलन र प्रतिमा निर्माण कार्य सम्पन्न गरेका हुन् । बागचौरीमा बाघको प्रतिमा निर्माण गर्ने पुरानो सोचलाई युवाहरूले आज पूरा गरेकोमा स्थानीयवासीहरूले खुसी व्यक्त गरे ।
आज युवाहरूले स्थानीय बुद्धिजीवी समाजसेवी सामाजिक अगुवा पत्रकार र स्थानीय बासीको उपस्थितिमा बाघको प्रतिमाको भव्य उद्घाटन गरे ।

त्यहाँ एक धार्मिक स्थल खाटमन्दिर प्रख्यात छ । यस कामले त्यहाँ ओझेलमा परेको ऐतिहासिक महत्वको धार्मिक स्थल खाटमन्दिर प्रचार प्रसार र त्यहाँको पर्यटन प्रबन्धनमा टेवा पुग्ने विश्वास युवाहरूको छ ।

जेनजी आन्दोलनको जागरणसँगै त्यहाँका युवाहरू आफ्नो गाउ आफै बनाऊ अभियानमा जुटिरहेका छन् ।
युवाहरू जागरुक बने र आफ्नो ठाउँको लागि केही गर्न चाहे असम्भव केही छैन भन्ने उदाहरण र राम्रो सन्देश यस कार्यबाट दिएका छन् ।
यस अघि सो ठाउँमा राष्ट्रिय झण्डाको समेत प्रतिमा निर्माण गरेका उनीहरुले विभिन्न सामाजिक कामहरु गर्ने विकृति, विसंगति, व्यथितिको विरुद्धमा आवाज बुलन्द पार्ने, भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गर्ने, सामाजिक सेवा र सद्भावको कार्य गर्दै आएका थिए ।

उद्घाटनमा पनि नयाँ अभ्यास
यहाँका युवाहरूले हरेक कुरामा सिर्जनशीलता र नयाँ अभ्यास देखाइरहेका छन् ।
यसै सिलसिलामा बाघको प्रतिमा उद्घाटन गर्न उनीहरूले कोही एक व्यक्तिलाई चुनेनन् । कार्यक्रममा उपस्थित सबैबाट सामूहिक रुपमा उद्घाटन गराए ।
कार्यक्रममा उपस्थित बालकदेखि वृद्धसम्म समाजसेवीदेखि जनप्रतिनिधिसम्म सबैलाई एक साथ अनि सामूहिक रुपमा पर्दा खोलेर उद्घाटन गराएका थिए ।
यसले गाउँमा सामूहिकता र एकताको सन्देश जगाउने काम भएको युवाहरूले बताएका छन् । समाज निर्माणमा सबैको योगदान र सामूहिक भावनाको आवश्यकता पर्दछ। सोही कुराको प्रतिनिधित्व गर्दै सामूहिक उद्घाटन कार्यक्रम राखिएको जनाइएको छ ।