
पूर्णपुष्टि, बैशाख ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा सरकारी कार्यक्रममा बोलाएर पनि सहभागी नहुने व्यक्तिहरूलाई अर्को पटकदेखि नबोलाउन स्पष्ट निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारी कार्यक्रममा सधैं नाम राखेर बोलाइरहने तर कहिल्यै उपस्थित नहुनेहरूको रेकर्ड राख्न र भविष्यका कार्यक्रमहरूमा त्यस्ता व्यक्तिहरूको नाम नराख्न अधिकारीहरूलाई निर्देशन दिए ।
“कहिले पनि नआउने, नाम राखिरहनुपर्ने । मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ,” प्रधानमन्त्री ओलीले भने । उनले थप भने, “हरेक फङ्सनमा नाम राख्ने गर्दछौँ, तर कहिल्यै देखा पर्दैन । कुनै अर्थ छैन, महत्त्व नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ ।”
प्रधानमन्त्रीले अधिकारीहरूलाई अघिल्ला कार्यक्रमहरूमा उपस्थितिको रेकर्ड हेरेर मात्र भविष्यका कार्यक्रमहरूमा निमन्त्रणा दिन निर्देशन दिए । “अर्को पल्टसम्ममा सोधी खोजी गर्नुहोला । रेकर्ड हेरेर आउने हो कि होइन, सोधेर आउने नभए नाम नराख्नु होला,” उनले भने । साथै, प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस जनस्तरमा मनाउनुपर्ने र केवल सरकारी कार्यक्रमहरूमा मात्र भर पर्न नहुने धारणा पनि व्यक्त गरे ।
