Friday, February 7News That Matters

सरस्वती सामुदायिक वनद्वारा विद्यार्थीलाई न्यानो कपडा र उपभोक्तालाई निःशुल्क विद्युत

पूर्णपुष्टि, पुष २५ । उदयपुरको कटारी नगरपालिका–७ स्थित श्री सरस्वती सामुदायिक वन उपभोक्ता समूहले सरस्वती आधारभूत विद्यालयका ५० विद्यार्थीलाई न्यानो कपडा, झोला, मोजा र जुत्ता वितरण गरेको छ ।

समूहका अध्यक्ष खड्गबहादुर तामाङका अनुसार उपभोक्ताहरुकै बालबालिकाहरुलाई सहयोग गर्नु समूहको दायित्व भएकोले वनको आम्दानीबाट यो कार्यक्रम गरिएको हो । समूहका सचिव कर्णबहादुर तामाङले न्यानो कपडा वितरण कार्यक्रममा एक लाख चार हजार रुपैयाँ खर्च भएको जानकारी दिए ।

त्यसैगरी समूहले १०८ घरधुरी उपभोक्तालाई निःशुल्क रुपमा मिटरबक्स र कालोतार उपलब्ध गराई विद्युत जडान गरिदिएको छ । विद्युत जडानका लागि नेपाल विद्युत प्राधिकरणको कटारी शाखासँग समन्वय गरी करिब दश लाख रुपैयाँ खर्च गरिएको छ । उपभोक्ता मोहनसिंह तामाङले आर्थिक अभावका कारण विद्युत जडान गर्न नसकेका घरमा समूहले विद्युत जडान गरिदिएपछि घर उज्यालो भएको बताए । आगामी वर्षका लागि समूहले सडक, शिक्षा र खानेपानी क्षेत्रमा काम गर्ने योजना बनाएको छ ।