
पूर्णपुष्टि,वैशाख २८
सप्तरीमा सवारी दुर्घटनामा परी एक दम्पितीको ज्यान गएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको ज्यान गएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३८६१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार मण्डल दम्पतीको ज्यान गएको जिल्ला प्रहरी कार्यायल सप्तरीले जनाएको छ । उनका अनुसार साइकलमा सवार मण्डल दम्पती घाइते भई दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल भारदह लैजाने क्रममा दुवै जनाको बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।
शवपरीक्षण लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगडी बढाएको प्रहरीले जनाएको छ ।
