Wednesday, June 10News That Matters

सहकारी संस्थाले रकम ठगी गरेको आरोपमा ३ जना पक्राउ, अन्य ५ फरार

पूर्णपुष्टि, फागुन २९ ।सहकारी संचालन गरी ठुलो रकम ठगी गरेको आरोपमा बिराटनगरको तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका क्षेत्रिय प्रबन्धक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको उर्लाबारी नगरपालिका–६ घर भई संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका–१४ घर भई विराटनगर महानगरपालिका–३ बस्ने सहकारी संस्थाको सचिवको जिम्मेवारीमा रहेकी सविना न्यौपाने र विराटनगर महानगरपालिका–२ का संस्थाका क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत मन्दिप खवास रहेका छन् ।

नेपाल भरी कार्यक्षेत्र रहने गरी २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय बिराटनगर–२ मा रहेको छ । यही फागुन १ गते देखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनि सेयर सदस्यहरुले दिएको जाहेरीको आधारमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त संस्थाले बाल बचत÷ज्येष्ठ नागरिक बचत÷भविष्य सुनिश्चित बचत÷ सुपर पेन्सन बचत÷ अवधि बचत÷ कर्मचारी चल्ती बचत÷विशेष बचत÷ साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारी बचत गर्न लगाउने गरेका थिए ।

आफ्नो तथा बालबच्चा सहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठुलो रकम बचत गर्दै आएकोमा फागुन १ गते देखि कार्यालय बन्द गरी सञ्चालक समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन भएका थिए । सञ्चालकहरु नै फरार भए पश्चात आफूहरु ठगीमा परेको थाहा पाई फागुन २८ गते केही बचत कर्ताहरुले १२ करोड ९ लाख ४ हजार ४ सय ८७ रूपैया बराबरको रकम ठगी भएको भनि संस्थामा कार्यरत ८ जनाको बिरुद्धमा जाहेरी दिएका थिए । .

सोही जाहेरीको आधारमा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तिन जनाको थप अनुसन्धान तथा अन्य ५ जनाको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।