
पूर्णपुष्टि/काठमाडौं, फागुन १५ ।
खोटाङ सेवा समाज काठमाडौंले आज एक कार्यक्रम गरी मुखको क्यान्सरबाट पीडित खोटाङकाे बराहपोखरी जन्मि हाल सुनसरीको राजाबासमा बसोबास गर्दै आएका ३४ वर्षिय दिपक खत्री (बन्जरा)लाई उपचार सहयोगस्वरूप संकलित रकम हस्तान्तरण गरेको छ ।
सहयोग अभियानबाट हालसम्म सकलित ७ लाख २६ हजार ८३२ रकम समाजको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो । समाजका सदस्य, आर्थिक सहयोग समितिका नेपाल संयोजक लोकबहादुर खत्री र माधव खत्री तथा विदेशबाट खडिन्द्र खत्री र राजकुमार खत्रीको संयुक्त पहलमा सञ्चालन गरिएको उक्त रकम बिरामीकै उपस्थितिमा हस्तान्तरण गरिएकाे हाे ।
कार्यक्रममा मध्यपुर ठिमी नगरपालिका – १० का वडा अध्यक्ष बाबुकाजी डंगोल, बन्जारा तथा बन्जाडे समाज नेपालका केन्द्रीय अध्यक्ष गीता तिमल्सिना, समाजसेवी अष्टे कबे, केदार आले मगर, गोविन्द बल्लभ भट्ट लगायतको उपस्थिति रहेको थियो । उनीहरूले पीडितको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन समाजका महासचिव राजु एन राईले गरे भने स्वागत मन्तव्य उपाध्यक्ष जगतप्रसाद घिमिरेले व्यक्त गर्नुभएको थियो । समाजका अध्यक्ष नवल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानवता, करुणा र सहकार्यको उदाहरण प्रस्तुत गर्न सबै एकजुट भएकोमा सबैकाे प्रशसा गरे ।
अध्यक्ष खड्काले भने “स्वास्थ्य नै जीवनको आधार हो । जब स्वास्थ्य कमजोर हुन्छ, तब परिवार, भविष्य र सपनाहरू सबै प्रभावित हुन्छन् । यस्तो अवस्थामा एउटा परिवारले एक्लैले सबै भार बोक्न अत्यन्त कठिन हुन्छ । तर जब समाजले साथ दिन्छ, तब असम्भव जस्तो लाग्ने कुरा पनि सम्भव बन्न सक्छ । सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ । हामी एकजुट भयौं भने उपचार सम्भव हुनेछ र एउटा जीवन फेरि मुस्कुराउन सक्नेछ।”
