Sunday, March 16News That Matters

सांसद शुरेसकुमारको पहिलो तलब शिक्षामा

पूर्णपुष्टि/उदयपुर, माघ ८ गते – मत दिएर चुनाव जिताउने जनताको मन जित्न प्रतिनिधिसभा सदस्य शुरेसकुमार राई (हिमाल) ले आफ्नो पहिलो महिनाको तलब शिक्षामा लगानी गर्ने भएका छन् ।

बाम गठबन्धनको साझा उम्मेदवार भई उदयपुर जिल्ला क्षेत्र नं. २ बाट जितेका सांसद राईले कटारी नगरपालिकास्थित त्रिवेणी उच्च माध्यामिक विद्यालयको स्वर्ण महोत्सवका लागि पहिलो महिनाको तलब प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले मासिकरुपमा आउने सेवा सुविधा अन्तर्गत पहिलो महिनाको तलब एक लाख रुपैयामा केही रकम थपेर कुल १ लाख १ हजार १ सय ११ रुपैया प्रदान गर्नुहुने भएको छ ।

आफ्नो क्षेत्र अन्तर्गतका पाँचवटै पालिकाका अधिकांश जनताका छोराछोरीले उच्च शिक्षा हाँसिल गर्ने उक्त विद्यालय स्थापना भएको ५० बर्ष पुरा हुनु र आफुले आफ्नो क्षेत्रमा काम थालनी गर्नु, संयोगबस समय मिलेकाले कार्य थालनीको रुपमा पहिलो तलब शिक्षामा लगानी गरेको सांसद राईले बताउनुभयो । विद्यालयले आगामी माघ २५ देखि २९ गतेसम्म विविध कार्यक्रमका साथ स्वर्ण महोत्सव मनाउदैछ ।

आफु पनि सामान्य किसानको छोरो भएकाले किसान, मजदुरका छोराछोरीको उज्जल भविष्यको कामना गर्दै उनीहरु पढ्ने विद्यालयलाई सहयोग गरेको स्पष्ट पार्नुभयो । जनताले शिक्षा प्राप्त नगरेसम्म देश विकास र आर्थिक समृद्धि सम्भव नभएकाले प्रारम्भिक काम नै शिक्षा क्षेत्रबाट गरेको उहाँले बताउनुभयो । जुन विश्वासमा जनताले अमूल्य मत दिएर विजय गराए, त्यो विश्वासलाई कायम गर्न शिक्षा, स्वस्थ्य, सडक, विजुली, सञ्चार, कृषि, वन, पर्यटन आदिको क्षेत्रमा ठोस् काम गर्ने उहाँले बताउनुभयो ।

यसरी नै पवित्र कार्य गर्दै लगेर आफ्ना क्षेत्रका जनताको मात्र नभई विपक्षी दलहरुसमेतको मत जित्ने उहाँले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले सांसद राईको सहयोगप्रति आभार प्रकट गर्नुभयो ।