Monday, May 4News That Matters

साइकलयात्रीमाथी मुक्का प्रहार गर्ने आयुषलाई १० वर्ष कैद र एक लाख जरिवाना माग सहित मुद्दा हाल्ने तयारी

पूर्णपुष्टि, १२ साउन ।
बिराटनगर स्थित साईकल एक मजदुरलाई मुक्का प्रहार गर्ने आयुष भेटवाललाई १० बर्ष कैद र एक लाख रुपयाँ जरिवाना सहित मुद्धा हाल्ने तयारी भएको छ ।

गलत दिशाबाट साइकल चलाएको निहुँमा मजदूरमाथि निर्घात कुटपिट गर्ने विराटनगरका आयुष भेटवाललाई १० वर्ष कैद र १ लाख जरिवाना गर्न माग गर्दै प्रहरीले सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको छ।

विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई राति कारबाट उत्रिएर मुक्का हान्दै कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीय भेटवाललाई यस्तो सजाय हुनुपर्ने प्रहरीको ठहर छ।

पक्राउ परेका भेटवाललाई मोरङ प्रहरीले मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान सुरू गरेको थियो।

मोरङ प्रहरीले अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार अनुसन्धान प्रतिवेदन बुझाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी गरेको बुझिएको छ।

‘हामीले अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएका छौं,’ डिएसपी दाहालले भने।

मुलुकी अपराध संहिता २०७४ को दफा १८३ ९१० अन्तर्गत ज्यान मार्ने उद्योग कसूर गरेको देखिएकोले दफा १८३ ९२० बमोजिम १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवनाको माग दाबी लिई राय सहितको प्रतिवेदन बुझाइएको उनले बताए।

असार २० गते राति साढे ८ बजे विराटनगर ४ स्थित दूध फार्म चोकमा बा १५ च ३४४५ नम्बरको कारमा सवार आयुषले साइकलयात्री साहलाई कुटपिट गरेका थिए। आयुषले मुक्का हान्दै कुटपिट गरेको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो।