
सुनिल राई
पूर्णपुष्टि, माघ २६ ।
समाजमा जोखिममा परेका बालबालिका तथा वृद्धवृद्धाको सहयोगका लागि साझा सेवा घर उदयपुरले ५ करोड रुपयाँ बरावरको अक्षया कोष स्थपना अभियानको उद्घाटन शनिवार गरेको छ । । ‘सामाजिक संरक्षणको आधार, साझा सेवा घर’ भन्ने मूल नाराका साथ शनिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका उप–सभामुख सिर्जना दनुवारले अक्षयकोष स्थापना अभियानको उद्घाटन गरेकी हुन् ।
कार्यक्रममा बोल्दै उप–सभामुख दनुवारले दुई वर्षको छोटो अवधिमा जग्गा व्यवस्थापन, भवन निर्माण र अक्षयकोष स्थापना गर्नु संस्थाको ठूलो उपलब्धि भएको बताएकी हुन् । उनले संस्थाको अक्षयकोष निर्माणका लागि कोशी प्रदेश सरकारको तर्फबाट बजेट व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
साझा सेवा घर उदयपुरकी अध्यक्ष गीता खड्का कार्कीले संस्थाको उद्देश्य सुन्दर र पवित्र भएकाले सफल हुने विश्वास व्यक्त गरिन् । उनका अनुसार संस्थाले पहिलो चरणमा जोखिममा परेका बालबालिकाको क्षेत्रमा काम गरेको र सफलता पश्चात अन्य जोखिम क्षेत्रमा समेत कार्य विस्तार गर्ने योजना रहेको छ ।
संस्थाले पारदर्शिता कायम गर्न अक्षयकोषका लागि छुट्टै बैंक खाता खोलेको र अन्य कारोबार नगर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा कोशी प्रदेश सदस्य गीता देवी रेग्मी, त्रियुगा नगरपालिकाका उप–मेयर महेश्वरी राई, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईली लगायतको उपस्थिति रहेको थियो ।
त्रियुगा नगरपालिका–१२ मा स्थापित यस संस्थाले नेपाल सरकारको सहयोग र त्रियुगा नगरपालिकाको जग्गा व्यवस्थापनमा आफ्नो सेवा सुरु गरेको हो । संस्थाले सामाजिक सुरक्षा र संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ ।