Wednesday, May 27News That Matters

सामाजिक सञ्जालमार्फत १८ लाखभन्दा बढी ठगी गर्ने दुई युवा पक्राउ

पूर्णपुष्टि, साउन १७ । अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको आरोपमा रौतहटका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २३ वर्षीय सत्यमकुमार सहनी र २१ वर्षीय शुभम साह रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार आरोपीहरूले फेसबुक मार्केटप्लेसमा आकर्षक सामानको विज्ञापन राखेर ठगीधन्दा चलाएका थिए। उनीहरूले सामानको तस्बिर राखेर अर्डर लिने, एडभान्स रकम लिएपछि खरिदकर्तालाई ब्लक गर्ने गरेको पाइएको छ।

आरोपीहरूले ई–सेवाको कर्मचारी भएको बहानामा पीडितहरूको ई–सेवा आइडीमा पहुँच बनाएर पसल, रेस्टुरेन्ट, लज र डान्सबारमा भुक्तानी गर्ने गरेको पाइएको अनुसन्धानमा संलग्न डीएसपी मधु थापा जानकारी दिए। हालसम्मको अनुसन्धानबाट उनीहरूले कम्तीमा १८ लाखभन्दा बढी रकम ठगेको अनुमान गरिएको छ।

प्रहरीले आरोपीहरूको मोबाइलबाट अन्य १३ जना व्यक्तिहरूको ई–सेवा वालेटको युजर आइडी र पासवर्ड फेला पारेको छ। हालसम्म २२ जनाले उनीहरूविरुद्ध उजुरी दिएका छन्। डीएसपी थापाले भने, ‘दुई जना आरोपीले सामाजिक सञ्जालमार्फत देशभर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ।’ प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।