
पूर्णपुष्टि, चैत ३
सिन्धुलीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
कमलामाइ नगरपालिका–७ करङडाँडामा दिउँसो करिब पौने ४ बजे जिप दुर्घटना हुदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा कमलामाइ नगरपालिका बाँसकोटका करिब ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रीता इस्माली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक भोजबिक्रम थापासहित सबै घाइतेलाई जिल्ला अस्पताल सिन्धुली ल्याइएको छ । चालकको अवस्था गम्भीर भएकाले धुलिखेल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको ।
सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको बा १७ च १११७ नम्बरको जिप आफैं अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा ११ जना सवार थिए ।
