Sunday, March 16News That Matters

सिपालु भए काम पाउन सजिलो

पूर्णपुष्टि/इटहरी, मंसीर २५ गते ।

इटहरी ६ की शीला गजमेरको एउटा सामाजिक संस्था छ, जनचेतना संस्था । संस्थाले विभिन्न रचनात्मक काम गर्दै आएको छ । लामो समयदेखि सामाजिक काममा सक्रिय उनको यो संस्थाको कार्यालय पनि गजमेरकै घरमा छ । कार्यालयमा कम्प्युटर, फोन, प्रिन्टरलगायत कार्यालय सामाग्री तथा उपकरणहरु सबै छन् । तर चलाउने कर्मचारी छैन ।

उपकरण चलाउने, बिग्रँदा बनाउने ठाउँमा लाने, कार्यक्रमहरुको प्रस्ताव लेख्ने, कार्यक्रम ल्याउने र कार्यक्रम चलाउने जस्ता काम गर्ने कर्मचारी खोजेको वर्ष बित्न लाग्यो । तर भनेजस्तो मान्छे पाउन सकेकी छैनन् । ‘कोही बोल्न नसक्ने, कोही नेपाली टाइप गर्न नजान्ने,’ उनी भन्छिन्, ‘सुरु मै धेरै पैसा खोज्छन्, तर सीप भने खासै हुँदैन ।’
गजमेरका अनुसार कार्यालयमा सबै उपकरण हुँदा हुँदै पनि त्यही काम बाहिरबाट गराउनु पर्दा खर्च र समय धेरै जान्छ । ‘गर्ने मानिस भएदिए कार्यक्रम ल्याउन, गर्न सजिलो हुन्थ्यो, संस्था सक्रिय हुन्थ्यो भने काम गर्ने मानिसले पनि कमाउँथ्यो,’ उनी भन्छिन् ।

गजमेरको जस्तै समस्या अहिले धेरै संघसंस्थालाई छ । सामाजिक संघसंस्थाहरु दक्ष जनशक्ति खोजिरहेका छन् । नेपाली टाइपसहित आधारभुत कम्प्युटर चलाउन सक्ने, निवेदन, प्रस्ताव लेख्न सक्ने, सामान्य औपचारिक कार्यक्रम चलाउन सक्ने, कार्यक्रमको रिपोर्ट लेख्ने, सञ्चार बुझेका, समन्वय गर्न सक्ने जनशक्ति खोजिरहेका छन् ।

औसत युवाहरु जोखिम नहुने र कार्यालयमा बसेर गर्न सकिने कामको खोजिमा हुन्छन् । तर कार्यालयमा बसेर गरिने काम पनि सजिला हुँदैनन् । जिम्मेवारी लिएर गर्दा गाह्रा हुन्छन् । तर केही सीप भयो भने यस्ता काम सजिलै गर्न सकिन्छ । पढेको भन्दा पनि व्यवहारले सिकाउने यस्ता सीप भएका मानिसको लागि तालिम प्रभावकारी हुन्छ । तर तालिमहरु भने निकै कम मात्र हुने गरेका छन् ।

‘आजभन्दा सात वर्षअघि इटहरीमा यस्तो तालिम आयोजना गरिएको थियो,’ इटहरीका सञ्चारकर्मी राम खरेलले भने, ‘त्यसपछि यस्तो तालिम भएको थाहा छैन ।’
इटहरीस्थित सीएसइ कम्प्युटर ट्रेनिङ सेन्टरले पनि रिसेप्सनदेखि काउन्सिलिङसम्मको लागि कर्मचारी दुई महिनाभन्दा बढी खोज्यो । तर भनेजस्तो मानिस नै नपाउने समस्या थियो । ‘धेरै आउँछन्, तर सीप चाहिँ पुरा छैन,’ सेन्टरका सञ्चालक जीवन भट्टराईले भने, ‘सिकाउन थालौं, समय र खर्च दुवै जाने, भनेजस्तो मानिस नै नपाउने समस्या छ ।’
नेपालमा काम खोज्नेको संख्या धेरै भएको तर सोअनुसार सीप जान्नेको संख्या भने न्यून रहेकोे इटहरीस्थित अक्सफोर्ड ट्रेनिङ सेन्टरका सञ्चालक नवीन पाण्डेले बताए । इटहरीमा सीप विकास गर्ने तालिमहरु दिने गरेको यो संस्थाले दक्ष जनशक्तिको अभाव महसुस गरेको छ ।

सञ्चारलगायतका विभिन्न तालिमहरु दिने र वृत्तचित्र निर्माण लगायतका कामहरु गर्ने अर्को संस्था नेप्ली मिडिया प्रालिले समेत दक्षता भएका मानिसको अभाव रहेको जनाएको छ । कम्पनिका सञ्चालक हिमाल दाहालका अनुसार सामाजिक संस्था, व्यापार व्यवशाय, पार्टी आदि क्षेत्रमा रहेका मानिसहरुले विभिन्न सीप सिक्न आवश्यक पर्छ । र त्यस्ता सीपहरु तालिमबाट प्राप्त गर्न सकिन्छ ।

‘एक जना व्यापारीले पत्रकारिता तालिम लिएको छ भने उसलाई व्यवशायको प्रमोशन गर्ने तरिका थाहा हुन्छ,’ उनी भन्छन्, ‘तिनै व्यापारीले भाषण तालिम लियो भने व्यवशायको नेतृत्व गर्न सजिलो हुन्छ ।’

व्यापारी वर्गले करसम्बन्धि जानकारी, व्यवशाय सञ्चालन, प्रबद्र्धनसम्बन्धि धेरै सीप सिक्नु पर्छ । त्यस्तै सीप कार्यालय सम्हाल्ने कार्यालय सचीव र रिसेप्सनिष्टले पनि जान्नुपर्छ ।
‘कार्यालयमा रहने रिसेप्सनिष्ट, काउन्सिलर, सेक्रेटरी जे भनेपनि उनीहरुको काम एउटै प्रकारको हुन्छ,’ पाण्डे भन्छन्, ‘उनीहरुमा कम्प्युटरको ज्ञान हुनुपर्छ, फोन आउँदा कसरी कुरा गर्ने, पाहुना स्वागत कसरी गर्ने, सामान्य हिसाबकिताब कसरी राख्ने, निवेदन कसरी लेख्ने, फोन, फोटोकपी, प्रिन्टर कसरी चलाउने लगायतका धेरै थरीका कामबारे जान्नुपर्छ ।’

यस्तै विभिन्न सीपबारे जानकारी दिनको लागि नेप्ली र अक्सफोर्ड ट्रेनिङ सेन्टर मिलेर इटहरीमा अफिस सेक्रेटरी र रिसेप्सनिष्टको तालिम आयोजना गरेको छ । आउँदो पुस ५ गतेदेखि हुने एक महिने तालिम ५० जनालाई दिइने आयोजक संस्था नेप्लीका हिमाल दाहालले बताए ।

उनका अनुसार यो तालिम लिएका प्रशिक्षार्थी कुनैपनि कार्यालयको कार्यालय सचीव, रिसेप्सनिष्ट, काउन्सिलर बन्न सक्षम हुन्छन् । ‘यो तालिमले आधारभूत बाटो देखाउने हो,’ उनी भन्छन्, ‘पहिला नै कुनै सीप जानेका वा आफूले पनि थप मेहेनत गर्ने प्रशिक्षार्थीहरुले तुरुन्तै रोजगारी पाउन सक्छन् ।’ तालिमका सहभागिहरुलाई रोजगारको लागि समेत संस्थाले सहयोग गर्ने समेत दाहाल र पाण्डेले बताए । (न्यूजलय अनलाईनको सहयोगमा)