Monday, June 16News That Matters

सिबाईस्थित त्रियुगा नदिमा निर्माणधिन पक्की पुलको ठेक्का रद्द

पूर्णपुष्टि, फागुन २ । सिबाई स्थित त्रियुगा नदीमा निर्माणाधीन पक्की पुलको निर्माण कार्य लामो समयदेखि अलपत्र पारेको भन्दै गाईघाट–दिक्तेल सडक योजना कार्यालयले निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ ।

महालक्ष्मी र लोकप्रिय जेभी बालाजुले करारीय दायित्व पूरा नगरेको कारण देखाउँदै कार्यालयले बिहीबार एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी सम्झौता अन्त्य गरेको जानकारी दिएको हो । सडक योजना कार्यालय गाईघाटका प्रमुख पशुपति ज्ञवालीका अनुसार निर्माण व्यवसायीलाई पटक–पटक लिखित र मौखिक रूपमा तोकिएको समयमै काम सम्पन्न गर्न आग्रह गरिएको थियो । तर निर्माण कम्पनीले बेवास्ता गरेपछि सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(७) र नियमावलीको नियम १२१(ख) बमोजिम ठेक्का सम्झौता रद्द गरिएको हो ।

तीन वर्षअघि खोलामा आएको बाढीले पुलको स्प्यान भत्काएपछि निर्माण कार्य अवरुद्ध भएको थियो । निर्माण व्यवसायीले तत्काल काम सुरु गर्ने प्रतिबद्धता जनाए पनि तीन वर्षसम्म कुनै प्रगति नभएपछि कार्यालयले कडा कदम चालेको हो । यो पुल गाईघाट–दिक्तेल सडक खण्डको महत्वपूर्ण संरचना हो । पुल निर्माणमा भएको ढिलाइले यात्रुहरूलाई समस्या भइरहेको छ । अब नयाँ ठेक्का प्रक्रिया सुरु गरी छिटो पुल निर्माण सम्पन्न गर्ने योजना कार्यालयको रहेको बताइएको छ ।