Wednesday, April 22News That Matters

सिमलताल बस दुर्घटना अपडेट : १५ जनाको शव फेला, ५० अझै बेपत्ता

पूर्णपुष्टि, साउन १ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते बिहान भएको भीषण बस दुर्घटनामा १५ जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलका अनुसार मृतकमध्ये आठ जनाको सनाखत भएको छ।

सनाखत भएका व्यक्तिहरूमा तीन भारतीय नागरिक रहेका छन्। भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको शव पहिचान भएको छ। नेपाली नागरिकहरूमा चितवनको माडी–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा–३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर–६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको शव पहिचान गरिएको छ।

दुर्घटनामा परेका दुई बस मध्ये एउटा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३–००६ ख १५१६ नं. को बस र अर्को काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस थियो। प्रहरीका अनुसार दुवै बसमा गरी कुल ६५ यात्रु सवार थिए। काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसबाट हाम्फालेर तीन जना बाँच्न सफल भएका छन्। रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता उपचारपछि घर फर्किसकेका छन् भने रौतहटकै देवाही बनाही नगरपालिका–१० का नन्दन दासको उपचार जारी रहेको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले उद्धार कार्य जारी रहेको र बेपत्ता यात्रुहरूको खोजी भइरहेको जानकारी दिए। शवहरू चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा र त्रिवेणी ब्यारेज क्षेत्रमा फेला परेका थिए।