
पूर्णपुष्टि, फागुन २६ ।
बिराटनगर महानगरपालिका–२ मा रहेको स्पर्श नेपाल सुधार केन्द्रबाट भागेका सुपरभाइजरसहित चार जना युवा मध्ये एक जना मृत अवस्थामा फेला परेको छ । सुनसरीको धरान उपमहानगरपालिका–१६ घर भएका २५ वर्षीय दिलेन्द्र परियार मृत भेटिएको हो । मोरङको कटहरी गाउँपालिकार र बिराटनगर महानगरपालिकाको सीमा भएर बग्ने खोलाको दहमा परियारको शव फेला परेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
मृतक परियार फागुन १ गते सुधार केन्द्रमा भर्ना भएका थिए । यसअघि पनि झापाको सुधार केन्द्र बसेका जिद्धी स्वभावका परियार केन्द्रमा पनि अरुलाई नटेर्ने, हात चलाउने, जिस्क्याँउने र भाग्ने हो आज भन्दै भन्दै आएको सुधार केन्द्रले जनाएको छ ।
इटहरीबाट खटिएको सशस्त्र प्रहरीको गोताखोर टोलीले दहबाट परियारको शव बाहिर निकालेको थियो । भाग्ने क्रममा उनी खोलामा हामफालेर बेपत्ता भएका थिए । दहमा हामफालेपछि बाहिर निस्कन नसक्दा पानीमा डुबेर उनको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
