
काठमाडौं, फागुन २२ ।
सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख एक हजार ९ सय पुगेको छ ।
अघिल्लो दिन प्रतितोला रु ९९ हजार ९ सयमा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला रु दुई हजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ४ सय तोकिएको छ । सोको मूल्य गत शुक्रबार प्रतितोला रु ९९ हजार ४ सय तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार ४ सय १५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
विश्व बजारमा सुनचाँदीको मूल्य बढेअनुसार नै आज नेपालको बजारमूल्यमा प्रभाव परेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले बताउनुभयो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔँस एक हजार ९ सय ७० डलर आसपास कारोबार भइरहेको छ । रासस
