Friday, June 5News That Matters

सुनसरीमा बागी उम्मेदवार सुसाईट नोट सहित झुण्डीएको अवस्थामा मृत फेला

पूर्णपुष्टि, बैशाख २४
सुनसरीमा एक उम्मेदवार झुण्डीएको अवस्थामा फेला परेको छ । सुनसरीको रामधुनी नगरपालिका– ८ बाट वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ६५ वर्षीय गणेश पौडेल आफ्नै घर पछाडिको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका लागि टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवार दिएक थिए । उनी चार दिनअघि मात्र घरबाट वेपत्ता भएका थिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘मोबाइल फोन घरैमा राखेर र मोटरसाइकल इनरुवामा छाडेर चार दिनअघि घरबाट उनी वेपत्ता भएपछि परिवारले दिएको उजुरीको आधारमा प्रहरीले व्यापक खोजी गरेको थियो । तर उनी त्यसको भोलिपल्ट सम्पर्कमा आएका थिए ।’

उनको शव शनिबार बिहान फेला परेको हो । रामधुनीको डुम्रास्थित पौडोल चोकमा परिवारसहित बस्दै आएका पौडेल कांग्रेसका क्रियाशील सदस्य हुँदा पनि ०७४ को चुनावा पनि टिकट नदिएको र यसपटक पनि नदिएपछि आफ्नो स्वतन्त्र प्यानलै बनाएर वडा ८ बाट वडाध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेका थिए ।

स्थानीय तहको चुनाव र आफ्नै पार्टीभित्रको विवादका बीच पौडेलको मानसिक सन्तुलनमा केही गडबढी उत्पन्न भएकाले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । तर उनले मितिसहितको हस्ताक्षर गरेको सुसाइड नोट उनैले लेखेको हो वा अरुको दबाबमा परेर लेखेको त्यसबारे भने अनुसन्धान हुन बाँकी छ ।

निर्वाचन कार्यालयमा स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीले उम्मेदवारी फिर्ता लिन दबाब दिएको थियो । तर पौडेलले फिर्ता नलिएपछि कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो ।

उनको शवसँगै प्रहरीले सुसाइड नोट पनि बरामद गरेको प्रजिअ यादवले बताए । सुसाइड नोटमा पौडेलेले लेखेका छन्, ‘यो कार्य म आफैंले गरेको हो । कसैलाई दोष नदिनू । मलाई समवेदना र झण्डा ओढाउने कार्य नगर्नू । मलाई चिरफार नगर्नू । डीएसपी एन कार्की एकदमै राम्रो मान्छे यति बुझदिनू । पोष्टमार्टम नगरिदिनू । सबैले हेर्न पाउन् । बुवाआमालाई माया गर्नु सबैले । भतिजा भतिजीलाई हेर्नु । म आफ्नै कारणबाट आजदेखि बिदा हुँदैछु । घरपरिवारलाई ठीकसँग राख्नू । कसैले पिर नगर्नू । समय कम छ । यतिनै लेखे । अस्तु ।’