
पूर्णपुष्टि, कार्तिक २
अबिरल बर्षाका कारण डोटीमा सेती नदिको पुललाई बाढीले छोएको छ । अत्यादिक बर्षाका कारण पानीको सतह ह्वातै बढे सँगै सेती नदिले पुल छोएको हो । बाढीले पुल छोएपछि आवत जावतमा रोक लगाएको छ । पुलमा आवतजावत बन्द गरिएपछि तराईबाट डोटीको सदरमुकाम सिलगढीलगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौं सवारी साधन पिपल्ला बजारमा रोकिएका छन् ।
बाढीको सतहले पुल छोएपछि आज बिहानैदेखि सो पुल भएर आउ–जाउ गर्न रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले जानकारी दिए ।
तीन दिनदेखिको लगातारको वर्षाका कारण नदीमा बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । नदीमा पानीको बाहब बढ्दै गएको र वर्षा पनि नरोकिएकाले नदी आसपासका नागरिकलाई नदी क्षेत्रमा नजान तथा विशेष गरी रातिको समयमा सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए । विपद् व्यवस्थापनमा जुट्न जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइअलर्ट’ मा बस्न निर्देशन दिइएको समेत प्रजिअ विष्टले जानकारी दिए ।
