Wednesday, June 3News That Matters

सेनाद्वारा सशस्त्र प्रहरीलाई इन्सास राइफलसहित ५९० थान हतियार हस्तान्तरण

काठमाण्डौँ, चैत २७
नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पाँच हजार ९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले इन्सास राइफल ५०० नाल र लाइट सपोर्ट वेपन ९एलएसडब्लु० ९० नाल एवं सोको एम्युनिशनसहित सामग्री सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गर्नुभएको हो ।

सशस्त्रलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रम सञ्चालनका लागि ती हतियार उपलब्ध गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।मन्त्रिपरिषद्को यही चैत २४ गते बसेको बैठकमा सेनाद्वारा सहयोगस्वरुप सशस्त्र प्रहरीलाई इन्सास राइफल नौ हजार नाल र एलएसडब्लु एक हजार ६०० नाल हतियार उपलब्ध गराउने निर्णय भएको थियो ।

सोहीअनुरुप सेनाले आज ती हतियार हस्तान्तरण गरेको र बाँकी हतियार तथा एम्युनिशन क्रमशः हस्तान्तरण गर्दै जाने सेनाले जानकारी दिएको छ । ती हतिरयारबाट सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि हुनाका साथै सुरक्षा निकायबीच सम्बन्धसमेत थप सुमधुर हुने सेनाले विश्वास लिएको छ ।हस्तान्तरण समारोहमा रक्षा मन्त्रालयका सचिव किरणराज अर्याल र गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, बलाधिकृत रथी बालकृष्ण कार्की, बलाध्यक्ष रथी सरोज प्रताप राणा, व्यवस्था, नीति तथा योजना विभाग प्रमुख उपरथी अशोकराज सिग्देललगायत उपस्थित हुनुहुन्थ्यो । (रासस)