
पूर्णपुष्टि, साउन ११ । बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव पहिचान कार्य अन्तिम चरणमा पुगेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले दिउँसो चार बजेसम्म शव बुझाउने तयारी भइरहेको जानकारी दिए। डा.चौधरीका अनुसार १४ वटा शवको पहिचान लगभग सकिएको छ भने बाँकी ४ वटा शवको डेन्टल परीक्षण भइरहेको छ। केही शव बढी जलेकाले डेन्टल परीक्षणबाट पहिचान गर्नुपरेको उनले बताए।
पहिचान प्रक्रियामा त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पतालका गरी २५ जना फोरेन्सिक विशेषज्ञहरू खटिएका छन्। आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा शवहरूको पहिचान गरिएको र वैज्ञानिक आधार स्पष्ट भएपछि मात्र आफन्तलाई शव जिम्मा लगाइने डा.चौधरीले बताए। नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन सुरु गरेको छ।
