Saturday, June 20News That Matters

स्थानीको माग पुरा नगरे साउन २१ गते उदयपुर जिल्ला बन्द गर्ने घोषणा

पूर्णपुष्टि, साउन १७

उदयपुरको कटारी नगरपालिका–४ मरुवाका स्थानीहरुको माग पुरा नगरे साउन २१ गते जिल्ला पूर्णरुपमा बन्द हुने घोषणा गरिएको छ । सोलु करिडोर १३२ केभी प्रशारण लाईन जडानको क्रममा स्थानीयको माग अनुसार उचित मुआब्जा नदिई आयोजनाको काम बलपूर्वक अगाडि बढाउन खोजिएको भन्दै त्यसलाई रोक्न उदयपुर जिल्ला बन्द गर्ने घोषणा गरिएको हो ।

स्थानीयले मागेको मुआब्जा, उचित क्षतिपूर्ति, विद्यालयमा राखिएका सुरक्षाकर्मी फिर्ता हुनुपर्नेलगायतका माग स्थानीयले राखेका छन् । नेकपा माओबादी केन्द्रका नेता केपी बरालको नेतृत्वमा सोलु करिडोर विवाद समाधान पहल समिति गठन गरी संघर्षरत मरुवाबासीले १७ गते आईबार कटारी बजार बन्द गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, जनता समाजबादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (बिप्लव समूह) गरी बिभिन्न ६ राजनीतिक दलले शनिबार आन्दोलनका बिभिन्न कार्यक्रम सार्वजनिक भएको छ । गठबन्धन संघर्ष समितिले तय गरेको योजनाबद्ध कार्यक्रम अन्तर्गत साउन १७ गते कटारी बजार बन्द, १८ गते यातायात बन्द, १९ गते सम्बन्धित कार्यालयहरुमा अनिश्चितकालिन तालाबन्दी, २० गते मरुवास्थित सुरक्षाकर्मी राखिएको विद्यालय तालाबन्दी र २१ गते उदयपुर जिल्ला बन्द घोषणा गरिएको छ ।