
साउन २२ गते ।
विभिन्न बहानामा यात्रु ठगी गर्ने ट्याक्सि चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । उपत्यका भित्र संचालन भएका १२ हजार ७ सय ४९ ट्याक्सि चालकलाई ट्राफिक प्रहरीले कारबाहीले गरेको हो ।
आर्थिक वर्ष २०७५/०७६ मा कानुन विपरित मिटरमा जान नमान्ने, मिटर विगार्ने, भाडा अनियमिता गर्ने, बढी भाडा लिने ट्याक्सि चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले कारवाही गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा ८ हजार १ सय २० ट्याक्सी चालक कारबाहीमा परेको थियो । अघिल्लो वर्षको तुलनामा बृद्धि भएको प्रहरीले जनाएको छ । यात्रु ठगी गर्ने दैनिक ४०/५० ट्याक्सि चालकलाई कारवाही गर्दै आएको प्रहरीले जनाएको छ ।
यस्ता बढी भाडा लिने ट्याक्सी चालकलाई तीन हजार जरिवाना गर्ने गरेको प्रहरीले जनाएको छ । पाँच पटक भन्दा बढी कारवाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बन गर्न यातायात व्यवस्था कार्यालयमा सिफारिश गर्ने गरिएको महाशाखाले जनाएको छ ।
मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई पाँच सय देखि एक हजार पाँच सयसम्म जरिवाना गर्ने गरिएको प्रहरीले जनाएको छ । यस्ता ट्याक्सि नियन्त्रण गर्न महाशाखाले दैनिक ३० देखि ५० जना ट्राफिक प्रहरी उपत्यकाका विभिन्न स्थानमा खटाउँदै आएको छ ।
