
पूर्णपुष्टि, साउन १३ गते ।
एक हजार रुपैयाँको निहुमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरका ३३ वर्षका यमबहादु थापा आफ्नै ३१ वर्षीया श्रीमती सावित्री थापा क्षेत्रीको हत्या आरोपमा पक्राउ परेको हो । यमबहादुरले एक हजार रुपैयाँ चोरेको रिसमा कुपिट गर्दा सावित्रीको मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सावित्रीले साउन १० गते साँझ दराजमा श्रीमानले राखेको एक हजार रुपैयाँ झिकेकी थिइन् ।
राति २ बजे यमबहादुरले पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई किन नसोधी पैसा झिकेको भनी कुटपिट गर्दा मृत्यु भएको खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।
श्रीमतीले साउनको खर्चका लागि पैसा चलाएको बताएको श्रीमानले प्रहरीलाई बयान दिएका छन् ।
