Friday, February 14News That Matters

हत्यामा संलग्न चारजना सार्बजनिक

पूर्णपुष्टि उदयपुर, असार ३१ ।

उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदहका ३० वर्षिय सुशिलकान्त चौधरीको हत्यामा संलग्न रहेको भन्दै चारजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार सार्वजनिक गरेको छ ।

प्रहरीले स्थानीय २५ वर्षिया सन्चमाया तामाङ, ३१ वर्षिय तिलक तामाङ, प्रकाश भन्ने शंकर तामाङ र एकबहादुर तामाङलाई अनुन्धानबाट हत्यामा संलग्न रहेको पाइएको भन्दै पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो । हत्यामा सम्लग्न चारै जनाले बयानमा हत्या गरेको स्विकार गरिसकेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताउनुभयो ।

असार २५ गते राती हत्या गरी नजिकैको कङखोलाको बगरमा गाडेको अवस्थामा पाँचदिन पछि मृतक चौधरीको शब फेला परेको थियो । असार २९ गते विहान बगरमा पुरेको र हातका औलाहरु स्यालले खाइसकेको दुर्गन्धित अवस्थामा फेला परेको थियो ।
बयानको क्रममा सञ्चमाया एक्लैले आत्मरक्षाका लागि चौधरीको हत्या गरेको बताए पनि अनुसन्धानबाट सुनियोजित ढंगले चारैजनाले हत्या गरेको प्रहरीको ठहर छ ।

एसपी भट्टराईका अनुसार पक्राउ परेका सञ्चमायाले राती घरमा जबरजस्ती प्रवेश गरी समातेपछि छातीमा चक्कुले प्रहार गरी घाइते पारेको र फलामे बमफकले टाउकोमा प्रहार गरेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । त्यस्तै प्रकाश भनिने शंकरले सञ्चमायाले बोलाएर एकबहादुर र तिलकसंग पुग्दा कोठामा छटपटिरहेका चौधरीलाई कुटपीट गरेर मारेर बगरमा गाडेको बयान दिएको प्रहरीको भनाई छ ।
शब फेला परेको २४ घण्टा नवित्दै हत्यामा संलग्नहरु यकिन गरेको प्रहरीले घटनास्थलबाट मृतकको चप्पल, चक्कु, कैची, तन्ना, फलामे दाउ बरामद गरेको छ ।

चारैजनालाई कर्तब्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरी आईतबार जिल्ला अदालतबाट म्याद थप गरी ल्याईएको र उनीहरुलाई कडा जेल सजाय हुने एसपी भट्टले बताउनुभयो ।