Friday, October 4News That Matters

हलेसीमा दर्शनार्थीको बाक्लो भीड, सिधा यातायात शुरु (फोटो फिचरसहित)

पूर्णपुष्टि/खोटाङ, फागुन २ गते

-किरात, हिन्दु र बौद्ध धर्मालम्बीको संगमलस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने र मेला भर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ । शिवरात्रीको अवसरमा लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीहरुको मङ्गलबार बिहानैदेखि बाक्लो भीड लागेको हो ।

मेलामा नेपाल लगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, कोरिया लगायतका हजारौं दर्शनार्थीहरुको उपस्थिति रहेको छ । जिल्लाको मुख्य नाका जयरामघाटस्थित दूधकासी नदीमा पक्की पुल बनेसँगै सहजरुपमा आवतजावत गर्न सकिने भएपछि गत वर्षहरुको तुलनामा यस वर्ष दर्शनार्थीहरुको उल्लेख्य उपस्थिति भएको होे ।

राजधानी काठमाडौं तथा तराईसँग सिधा यातायात जोडिएपछि काठमाडौं, धरान, बिराटनगर, जनकपुरधाम, ईलाम, रौतहट, पोखरा, लगायत छिमेकी देश भारतका दर्शनार्थीहरु गाडी रिजर्भ गरेर आएका छन् । धार्मिक तथा साँस्कृतिकरुपले प्रसिद्ध मानिने तिर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

महादेवगुफा, धर्मद्धार, पापद्धार, बसाहागुफा, भैरबगुफा, दुंदेलोगुफालगायतका धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थी आउने गरेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिनुभयो । हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तिज लगायतमा ठूलो मेला लाग्ने गरेको छ ।

हलेसीमा अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । सिधा यातायात शुरु भएपछि विशेषगरी गाडी रिर्जभ गरेर आउने दर्शनार्थी बढी हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0