
उदयपुर, साउन ८ गते ।
उदयपुरको सदरमुकाम गाईघाटमा ५५ विगाहा भन्दा बढि जग्गा अतिक्रमण गरी हात्तिमारा खोला नै गायव बनाएको भन्दै सोको खोजिका लागि सरकारलाई दवाव दिन आज गाईघाट मुख्यचौकमा नागरिक प्रदर्शनी भएको छ । “हात्तिमारा खोइ ? लेखिएका प्लेकार्डसहित प्रदर्शन गर्दै हात्तिमारा खोला संरक्षण अभियान, गाईघाटले मुख्यचौकमा प्रदर्शनी गरेको हो । प्रदर्शनीमा सयौंकको संख्यामा नागरिकहरु स्वतस्फुर्त सहभागि भई “हात्तिमारा खोइ” को नारा लगाएका थिए ।
सरकारले तत्काल छानविन गरी अतिक्रमण र विक्रीवितरण गरिएको खोलाको सरकारी सार्बजनिक जग्गाको खोजी गर्नुपर्ने माग उनीहरुले राखेका छन् । अभियानका संयोजक खेमनारायण यादवका अनुसार भु–माफिया र जग्गा दलालहरुले २०६४ सालदेखि अतिक्रमण गरी खोला पुरेर बेपत्ता पारेका छन् भने तत्कालिन सरकारी अधिकारीहरुसमेतको मिलेमतोमा सोझासिधा नागरिकहरुलाई विक्री वितरण गरेको अरोप अभियानताहरुको छ । भुमाफिया र जग्गा दलालहरुलाई कानुनी दायरामा ल्याएर झुक्याएर किनाइएका पिडितहरुको क्षतीपूर्तीसमेतको माग उनीहरुले गरेका छन् ।
सरकारले छानविन नगरेसम्म नागरिक तहबाट सोधी, खोजी अभियान चलिरहने जनाएका छन् । खोलाको करिब ५५ विघा क्षेत्रमध्ये करिब पाँच विघामा विभिन्न संरचना र बस्ती बसेको र अन्यतिर भुमाफियाले जग्गा ओगटेर राखेको अरोप अभियानताहरुको छ ।
संयोजक यादवका अनुसार सचेत युवा तथा नागरिकहरुले स्थानीय तहमा नगरपालिका, मालपोत, नापी र प्रशासन कार्यालयमा उजुरी तथा गुनासो पटक पटक गर्दै आएका छन् । तर ठोस कदम चालिएको छैन । सरकारी सार्बजनिक जग्गा के कसरी मिलाएर विक्री वितरण गरे सरकारले सोको छानविन र खोजिनिती गर्नुपर्छ – संयोजक यादवले भने । अभियानमार्फत सरकारले चासो नदिए आन्दोलनको रुपमा उत्रने चेतनावीसमेत संयोजक यादवले दिए ।
सरकार स्वयम्ले तदारुकताका साथ चासो दिएर अतिक्रमित र पुरिएको खोलाको खोजी गर्नुपर्ने अभियानताहरुको माग छ । सरकार र सम्बन्धीत निकायलाई दवाव पुगोस् भन्ने हेतुले सार्बजनिक स्थलमा नागरिक प्रदर्शनी गरिएको अभियानताहरुले बताएका छन् ।
देखादेखि देशको कानुनलाई मिचेर खोला पुर्ने र अतिक्रमण गर्ने काम हुँदा पनि त्यसलाई रोक्ने काम नगरेको सरकारी संयन्त्रले नागरिकले प्रश्न उठाउँदासम्म अनुसन्धानका लागि चासो नदिएको गुनासो नागरिकहरुको छ । “हामी अव चुप बस्ने छैनौं, सत्यतथ्य छानविन गरी बेपत्ता पारिएको खोला र अतिक्रमित जग्गा फिर्ता नभएसम्म खोजी रहन्छौं, सोधी रहन्छौं ।” युवा अभियानता निमेश राईले भने ।
उनका अनुसार आजको प्रदर्शनीमा नागरिकहरु स्वतस्फुर्तरुपमा उपस्थित भएर “हात्तिमारा खोइ ?” भन्ने अभियानमा सहभागि बनेका थिए ।
