Sunday, February 16News That Matters

होली पर्व उदयपुरमा भब्य मनाइयो

पूर्णपुष्टि/उदयपुर, फागुन १८ गते

-रंगहरुको पर्व होली गाईघाटमा पनि भब्यरुपले मनाइएको छ । एकआपसमा रंग दलेर रंगीनरुपले पर्व मनाइएको छ । एकआपसमा खुसी र समृद्धिको कामना आदानप्रदानसमेत गर्दै होलीमा नाचगान गरिएको थियो । बजारभरी नै होली मनाउनेहरु रंगीनरुपमा देखिएका थिए ।

हुलका हुल, आ आप्mनै समुहमा उनीहरु रमाईरहेका देखिन्थे । बाजागाजा बजाएर नाँचगान गर्नेको कुनै कमी थिएन । साथीभाइ, आफन्तजनको विशेष भेटघाट र पर्व मनाउने तरिका विशेष थियो । सबै क्षेत्र र तहतप्काका व्यक्रिहरु पर्वमा सम्मिलित देखिन्थे । पर्वले अपनत्व र सद्भाव जनाएको जनप्रेमी युवा मञ्चका अध्यक्ष सुरेश गुप्ताले बताए ।

मञ्चको आयोजनामा भएको होली विशेष कार्यक्रममा रंगको उमंग छर्दै शुभकामना आदान प्रदान भएको थियो । कार्यक्रममा प्रदेश सांसदहरु विमल कार्की, नारायण बुर्जा मगर, कला घले, सुनिता चौधरी, सुनिता थापा, पार्टी नेताहरु, नागरिक समाज, पत्रकार लगायतको उपस्थितिमा भएको कार्यक्रममा शुभकामना आदान–प्रदान भएको थियो ।

प्राप्त जानकारी अनुसार त्रिनपा ५ देउरीमा पर्वसंगै लैंगिक समानताका लागि बृक्षरोपण भएको थियो भने त्रिनपा १३ पोर्ताहा स्थित मुसहर बस्तीमा होली पर्व विशेष मनाइएको थियो । मासवेस उदयपुरको आयोजनामा समुदायमा पिछडिएको समदाय मुसहर समुदायका साथ पर्व मनाइएको थियो ।

त्यस समुदायको शिक्षा, स्वस्थ्य जस्ता समस्याहरु, बाटोघाटो, खानेपानी जस्त समस्याहरुको बारेमा समेत जानकारी लिदै समुदायको सबैबीच एकआपसमा रंग दलेर पर्व मनाइएको अध्यक्ष नजबुल खानले बताए ।

खानेपानीको अभाव, शिक्षाको पहुँचमा कमी लगयतका समस्या दर्शाएका मुसहर समुदायलाई मिठो खानेकुरासमेत वितरण गर्दै समुदायको समस्या समाधानमा पहल गरिने बचन दिइएको उनले बताए ।

१८ प्रहरीको नियन्त्रणमा

होलीपर्वका दिन असहज वातावरण सिर्जना गर्ने र मादक पदार्थसेवन गरी अनियन्त्रित भएका १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठका अनुसार शुक्रबार होली खेल्ने क्रममा त्यस्ता अवस्थामा फेला परेकाहरुलाई पक्राउ गरिएको हो । प्रनि श्रेष्ठका अनुसार पक्राउ परेकाहरु मध्ये १४ जनालाई साँझसम्ममा अभिभावकको जिम्मामा पठाइएको भने बाँकी नियन्त्रणमै रहेका छन् ।

त्यस्तै अनियन्त्रित र ट्राफिक नियम उलंघनको अवस्थामा फेला परेका ५ मोटरसाईकल मध्ये चारवटालाई जिम्मा दिइएको र १ वटा प्रहरीमा रहेको उहाँले जानकारी दिनुभयो ।