Monday, May 18News That Matters

१४ बर्षीया बालिकाको सामूहिक बलात्कार

पूर्णपुष्टि,माघ २८ 

गत बिहीबार राति मोरङको कानेपोखरीमा  १७ बर्षीया एक किशोरीको बलात्कार भएको थियो । दुःख लाग्दो कुरा यो घटना सेलाउन नपाउँदै अर्को बालिका बलात्कृत भएकी छिन् । मोरङकै जहदा गाँउपालिका– १ कि १४ बर्षीया बालिकाको सोमबार राति ९ बजे सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । पिसाब गर्न घरबाट निस्कएकी बालिका सामूहिक बलात्कारमा परेकी हुन् ।

पिसाब गर्न निस्किएकी बालिका नफर्किएपछि अभिभावकले खोजी गर्दा दुई जनाले जबर्जस्ती मोटरसाइकलमा राखेर लगेको खुलेको थियो । गाउँमा हल्ला भएपछि गाउँलेहरु राति ११ बजे बालिकाको खोजीमा निस्किएका थिए साथै १ बजे प्रहरीले जानकारी पाएको थियो ।

मोटरसाइकलमा लिएर गएकाहरुले बालिकालाई घर छेउमा ल्याएर छाडेका थिए । करिब ३ घण्टापछि सम्पर्कमा आएकी बालिकाले आफू बलात्कारमा परेको बताएकी थिइन् ।

घटनामा प्रयोग भएको को २२ प १८१६ नम्बरको मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

घटनास्थल नेपालभारत सीमा क्षेत्रबाट करिब २ किलोमिटर नेपालतर्फ पर्छ । हल्ला भएपछि उनीहरु राति नै भारततर्फ भागेको प्रहरीको आशंका छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा २ युवकको खोजी गरेको छ ।

समयमा नै थाहा पाउन नसक्दा आरोपी भाग्न सफल भएको प्रहरीको भनाइ छ । आरोपीको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

बालिकाको तर्फबाट इलाका प्रहरी कार्यालय रानीमा मंगलबार जाहेरी दर्ता भएको छ । बालिकाको स्वास्थ्य परीक्षणका लागि माइती नेपालको सेफहाउसमा राखिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।