Saturday, June 27News That Matters

१६ नं वडा सुकौरा र बेङ्रीका १० व्यवसायीक कृषकलाई भैँसी वितरण

पूर्णपुष्टि, असार २० गते ।
“एक घर एक भैँसी, खाऔँ दुध नखाऔँ रक्सी” भन्ने नाराका साथ त्रियुगा नगरपालिका १६ नं वडाले व्यवसायीक कृषकहरुलाई दुहुनो भैँसी वितरण गरेको छ । वडाको सुकौरा र बेङ्रीमा रहेको व्यवसायीक भैँसी पालनमा आबद्ध १० घर परिवारलाई दुहुनो भैँसी वितरण गरिएको वडाअध्यक्ष मान वहादुर राईले जनाउनुभयो । आईतबार वडाअध्यक्ष राईसहित जिल्ला समन्वय समिति सदस्य गोमा कार्की, वडा सचिव महेस खनाल र अन्य वडा सदस्य सहितका जनप्रतिनिधिहरु र ना.प.स्वा.पा दिनेश प्रसाद पोखरेल कृषि तथा पशु प्राविधिकहरु को उपस्थितिमा भैँसि वितरण गरिएको हो ।

अध्यक्ष राईका अनुसार वडाको आर्थिक बर्ष ०७८/०७९ को वडागत बार्षिक स्वीकृत बजेट तथा कार्यक्रम अनुसार गत आर्थिक बर्ष देखीनै यो कार्यक्रम संञ्चालनमा आएको जनाउनुभयो । यस भैँसी वितरण अभियान बिषेशगरी वैदेशिक रोजगार बाट फेर्केका युवा, विपन्न तथा आर्थिक अवस्था कमजोर परिवार र बेरोजगार युवाहरुलाई लक्षित गरी कार्यक्रम संञ्चलन गरिएको राईको भनाई छ ।
वडावासीहरुलाई भैँसी पालन व्यवसाय प्रवद्र्धन गरी आत्मानिर्भर बनाउँदै वडाको गरिबी घटाई आयआर्जन विकास गर्न वडाले कार्यक्रमलाई बिषेश प्राथामिकता दिई गत बर्ष पनि १० कृषकहरुलाई मुर्राक्रस दुहुना भैँसी वितरण गरेका थिए । यो पटक पनि वडाको ४० प्रतिशत अनुदानमा उक्त अभियान स्वरुप १० कृषकलाई भैँसी वितरण गरिएको हो ।

भैँसी पालन व्यवसाय कृषि समूहका अध्यक्ष गोपाल कार्कीले वडाले कृषकहरुलाई ४० प्रतिशत सौलियत अनुदानमा भैँसी वितरण गरेको जनाउनुभयो । वडाको यो अभियानले कृषकहरुलाई आत्मनिर्भर तर्फ थप सहज भएको कार्कीले जनाउनुभयो ।
कार्कीका अनुसार हाल वडामा १५० भन्दा बढी भैँसीहरु पालेर पशुपालन व्यवसायमा कृषकहरु आकर्षित बनेको जनाउनुभयो । उत्पादित दुधलाई स्थानीय स्तरमै विक्रि गर्नुका साथै गाईघाट बजार सम्म पुराएर बेचिरहेको कार्कीले जनाउनुभयो । उहाँले हाल कृषकहरुले दुग्ध उत्पानदबाटै ४० देखी ५० हजार सम्म मासिाक आम्दानी समेत गर्दै आएको जनाउनुभयो ।
दुग्ध उत्पादन कार्यमा कृषकहरुलाई वडाले बिभिन्न सेवा सुविधा दिँदै आएको छ । यस कार्यलाई त्रियुगा नगरपालिकाले समेत ध्यानमा राखेर सहयोग पुराउँने प्रतिबद्धता राखेको वाडअध्यक्ष राईले जनाउनुभयो ।