
पूर्णपुष्टि, जेठ २८ गते ।
कृषी तथा पशुपञ्छि विकास मन्त्रालयले लकडाउनका कारण दुग्ध पदार्थको बिक्री घटेपछि ‘अफर’ योजना ल्याउने तयारी गरेको छ ।
उपभोक्ताले एक किलो चिज, धुलो दूध वा बटर किन्दा अर्को एक किलो सित्तैमा वा दुई किलोमा थप एककिलो सित्तैमा पाउने योजना घोषणा गर्न छलफल थालेको मन्त्रालयले जनाएको छ ।
दुग्ध पदार्थ उत्पादन गर्ने गोदाममा थन्किएका झण्डै सात हजार टन धुलो दूध, चिज र बटर बिक्रीका लागि गरिएको विभिन्न प्रयास असफल भएपछि निजी क्षेत्रका व्यवसायीसँग तेस्रो विकल्पको रुपमा यो छलफल अघि सारको मन्त्रालयले जनाएको छ ।
अहिले साढे तीन हजार टन पाउडर दूध, त्यति नै बटर र ५० करोड रुपैयाँ हाराहारीको चिज स्टकमा छ । तिनको बजार मूल्य साढे ४ अर्ब हाराहारी हुने मन्त्रालयको आकलन छ ।
बटर प्रतिकिलो ६ सय ५०, चिज १२ सय र पाउडर दूध ६ सय रुपैयाँ पर्छ । व्यवसायी राजी भए अफरमा सरकारले केही अनुदान दिएर भए पनि सस्तोमा दुग्ध पदार्थ बिक्रीको योजना ल्याउने प्रयास थालिएको जनाएको छ ।
निजी क्षेत्रका दुग्ध व्यवसायी र अर्धसरकारी दुग्ध विकास संस्थान (डीडीसी)को गोदाममा करिब ७ हजार टन दुग्ध पदार्थ थन्किएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । अत्यधिक मौज्दात हुँदा उद्योगहरू किसानसँग लिएको दूधको पैसा तिर्न समेत असमर्थ भएको बोर्डले जनाएको छ ।
