Wednesday, July 1News That Matters

१ न. प्रदेशमा ७० प्रतिशत रोपाइँ सकियो

पूर्णपुष्टि, असार ३०

१ नम्बर प्रदेशमा करिब ७० प्रतिशत रोपाई सकिएको छ । गत आईतबार साँझसम्म प्रदेशभर ६९.८३ प्रतिशत रोपाई भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय १ न. प्रदेशले जनाएको छ ।

धान रोपाइँ हुने ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमध्ये २ लाख ३८ हजार ७ सय ४१ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको जनाएको छ । यो कुल क्षेत्रफलको ६९.८३ प्रतिशत हो ।

अन्न भण्डारको रूपमा रहेको झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी ७३.१६ प्रतिशत रोपाइँ भएको जनाइएको छ । जसमध्ये हालसम्म झापामा ७५, मोरङमा ७० र सुनसरीमा ७५ प्रतिशत रोपाइँ भईसकेको छ ।

झापा, मोरङ र सुनसरीमा २ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रफलमा रोपाइँ हुने मध्ये १ लाख ६५ हजार १ सय ८५ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको जनाईएको छ ।

त्यसैगरी मध्य पहाडको इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, उदयपुर र खोटाङमा ७६ प्रतिशत र उच्च पहाडको ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा अहिले ५८.४ प्रतिशत रोपाइँ भएको जनाईएको छ ।

मध्य पहाडी क्षेत्रमा ९० हजार ९ सय १६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुनेमध्ये अहिलेसम्म ५८ हजार ८ सय २७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।