Wednesday, July 1News That Matters

भारतले कोशी ब्यारेजको ढोका थुन्दा डेढ लाख नेपाली जोखिममा

पूर्णपुष्टि, असार ३०

भारतले जीर्ण बन्दै गएको सप्तकोशी ब्यारेजका अधिकांश ढोका थुनेपछि करिब डेढ लाख नेपाली जोखिममा परेको छ । अविरल वर्षापछि कोशीमा पानीको वहाव खतराको तहमा पुगेपनि भारतले व्यारेजका सवै ढोका नखोल्दा प्रदेश १ र २ को सुनसरी, उदयपुर र सप्तरी जिल्लाका विभिन्न बस्तीमा बसोवास गर्दै आएका १ लाख ५० हजार नेपालीको ज्यान जोखिममा रहेको हो ।

सप्तकोशीमा पानीको बहाव उच्च भएपछि ५ दिनदेखि खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ । सप्तकोशीमा सोमबार पानीको बहाव प्रतिसेकेण्ड १ लाख ८९ हजार २ सय ३५ क्युसेक रहेको र ब्यारेजका ३७ ढोका खोलिएको प्रहरीले जनाएको छ ।

पानीको बहाव बढ्दा समेत भारतको नियन्त्रणमा रहेको सप्तकोशी व्यारेजका सबै ढोका नखोलिएपछि कोशी प्रभावित क्षेत्रका वासिन्दा त्रासी बनेका छन् । ५६ ढोका रहेको कोशी व्यारेजमा भारतले पानीको बहाव उच्च हुँदासमेत १५ देखि ३५ वटा मात्र ढोका खोल्ने गरेको छ ।

सरकारले असार, साउन र भदौ महिनामा ब्यारेजका सबै ढोका खोल्न पहल नगरेका कारण सप्तकोशी आसपासका क्षेत्रमा बसोबास गर्दै आएका १ लाख ५० हजार बढी नेपालीको ज्यान जोखिम अवस्थामा रहेको स्थानीयहरु बताउँछन् । भारतको हेपाहा प्रवृत्ति र नेपाल सरकारको वेवास्थाका कारण कोशी प्रभावित क्षेत्रका वासिन्दाको ज्यान जोखिम अवस्थामा रहेको बताएका छन् ।

वर्षातको समयमा सप्तकोशी नदीका सबै ढोका खोल्न केन्द्र सरकारमार्फत अनुरोध गर्दा समेत बेवास्था गरिएको छ । सप्तकोशी नदीमा बर्षेनी बाढीले सयौं खेतियोग्य जमिन र मानव बस्तीमा कटान गर्दा हजारौं सर्बसाधारण घरबारबिहीन हुनु परेको छ ।

सुनसरीका बराहक्षेत्र नगरपालिका, कोसी गाउँपालिका उदयपुरको बेलका नगरपालिका र सप्तरीको कञ्चनरुप नगरपालिकालगायतका हजारौँ गाउँ बस्ती बाढीको उच्च जोखिममा रहेका छन् ।

भारतले कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण दर्जनौ पटक कोशीले धार परिवर्तन गर्दा सुनसरीका ५ हजारभन्दा बढी सर्बसाधारणको घरखेत बगाइ विस्थापित बनाएको स्थानीयहरु बताउँछन् ।

सप्तकोशीमा आएको बाढीले सुनसरीको चतरा, चक्रघट्टि, प्रकासपुर, मधुवन, हरिपुर, उदयपुरको बेलका नगरपालिका, सप्तरीको हनुमाननगरलगायतका स्थानमा कटान सुरु गरेको छ ।

भारतले कोशी व्यारेजका सबै ढोका नखोलेका कारण असार, साउन र भदौ महिनाभरी रातभर जाग्रम बस्नु परेको छ । सप्तकोशीमा व्यारेज बनेयता २०२२ सालदेखि बर्षेनी बाढीले खेतियोग्य जमिन र मानव बस्ती बगाउन सुरु गरेको स्थानीय तहहरुले बताएका छन् । कोशी ब्यारेज नेपालको नियन्त्रणमा नहुन्जेलसम्म कोशी प्रभावित क्षेत्रका वासिन्दा बर्षातको समयमा तड्पेर बाच्नु परेको जनाईएको छ ।

कोसी व्यारेज निर्माण हुनु अगाडि नेपाल–भारत सरकारबीच गरिएको सम्झौतामा कोशीले विस्तापित बनाएकाहरुलाई भारत सरकराले क्षतिपूर्ति दिने सम्झौता गरेको भएपनि भारतले अहिलेसम्म पीडितलाई कुनै प्रकारको राहत नदिएको कोशी पीडित संर्घष समितिले जनाएको छ ।