Tuesday, January 14News That Matters

२१ औं सताब्दीकै ठूलो बुद्धमुर्ती र रामचन्द्र पण्डितको मुर्तीकथा (भिडियोवार्तासहित)

भोटराज राई/उदयपुर, चैत १७ गते

-नेपाली इतिहासको पानामा मुर्तीकृतिका चर्चित कलाकार अरनीको स्वर्णअक्षरमा नाम अंकित छ । त्यसपछिका समयहरुमा त्यस्ता नामहरु त्यतिधेरै नसुनिए पनि यतिबेला उदयपुरका एक युवाको काम चर्चा गर्न लायक छ । यतिबेला २१ सौं सताब्दीकै सबैभन्दा ठूलो बुद्धको मुर्ती अन्य तीन नेपाली कलाकारहरुका साथ जापानको एक पहरामा खोप्दै गरेका त्रियुगा नगरपालिका ६ का ३४ वर्षिय रामचन्द्र पण्डीतको मुर्तीकथा घतलाग्दो छ । डेडबर्ष अघिदेखि ६५ फिट अग्लो र २ सय फराकिलो, बुद्धमुर्ती निर्माण गर्दै गरेका यी कलाकारहरुको कला, काम र साधना भोलीका दिनमा इतिहासमा अंकित लायक छ ।

माटोको भाडाकुडा बनाउने, भगवानका मुर्तीहरु निर्माण गर्ने पुर्खौली पेशा भएको कुम्भकार पण्डित परिवारमा जन्मिएका पण्डित, सानैदेखि माटोमै रमाउने गर्दथे । सानैदेखि पढाईमा भन्दा मुर्तीकृति र चित्रकला, हस्तकलामा धेरै चासो दिनुहुन्थ्यो । “व्याकबोर्डमा चित्र बनाउनु पर्यो भने सबैभन्दा पहिलो अगाडी सर्थे” बाल्यकालको पढाईको स्मरण गर्दै उहाँले भन्नुुभयो “विद्यालयमा पढाई भईरहदा म गाउँघर, बजारमा कहाँ, कस्तो मुर्ती बन्दैछ, त्यसको खोजी गरिहिड्थे र त्यसैमा टोलाउदै कल्पनामा डुब्थँे र रमाउने गर्दथे ।”

बुवा, आमा, बाजेले घरमै माटोको भगवानका मुर्तीहरु बनाउने भएकाले उनीहरुबाटै बनाउने सिकेका उहाँलाई बनाइएका मुर्तीहरु खोलामा सेलाउनु (फाल्नु) पर्दा मन खिन्न हुन्थ्यो । “कत्ति धेरै मेहनतले बनाइएको मुर्तीकला फालेर नष्ट गर्नुपर्दा साह्रै मन दुख्थ्यो ।” उहाँले भन्नुभयो । माटोबाट बनाइएकाले नटिक्ने भएकाले फाल्नै पर्ने हुन्थ्यो । किशोराबस्था पार गर्दैताका उहाँको मनमा माटोको मुर्तीलाई कसरी ढुंगा, सिमेन्ट, फाईबरमा परिणत गर्न सकिन्छ भन्नेतर्फ लाग्नुभयो । त्यसै सिलसिलामा उहाँले विभिन्न अग्रजहरुको कार्यकक्षमै धाएर ज्ञान, सीप ग्रहण गर्नुभयो । देविदेवताको मुर्ती घरको परम्परागत वातावरणबाटै दक्ष भएका पण्डितले चितवनका सूर्य केसी, सिलगुडीकाबंगाली मुर्तीकारहरु, काठमाडौंमा थाईल्याण्डका मुर्तीकारहरुसंग सिकेका थिए ।

५९ सालमा हस्तकलामा उदयपुर जिल्ला प्रथम भएका पण्डितले ललितकला सम्बन्धी औपचारिक शिक्षा लिन नपाएपनि दक्षता अस्वभाविक छ । श्रष्टादेखि शहीदसम्मका सयौं मुर्तीकृर्ति बनाईसकेका पण्डितमा कसैको अनुहार प्रत्यक्ष वा फोटोमा हेरिसकेपछि जस्ताको तस्तै मुर्तीमा उतार्न सक्ने विशेष प्रतिभा र क्षमता छ । पहिलोपटक उदयपुरको पुरानो श्रष्टा कवि गम्भिरबहादुर थापाको मुर्ती जस्ताको तस्तै उतारेका पण्डितले, दाङका पहिलो जनआन्दोलनका सहिद उमेशचन्द्र थापा, बिपी, गणेशमान, भुपिशेरचन, मनमोहन, पारिजात जस्ता नेपालका ऐतिहासिक व्यक्तिहरुको मुर्ती बनाइसकेका छन् । भुटानको पहिलो राजाको मेटलमा मोडलसमेत सफलरुपमा उतारेका पण्डितको यिनै प्रतिभा र क्षमताका कारण जापानमा बुद्धमृर्ति बनाउने काम पाएका थिए ।

ललितकला क्याम्पसका प्राध्यापकसमेत रहनुभएका मुर्तीकारसूर्य केसीको नेतृत्वमा जापान पुगेका थिए । केही समयपछि स्वास्थ्य स्थितिका कारण केसी फर्किनु भएपछि पण्डित लगायत मोरङको मञ्जुल मितेरी, काभ्रेका सानुभाइ विश्वकर्मा लगायत जापानमा काम गरिरहनु भएको छ ।

विदामा घर आएको बखत भेटिएका कलाकार पण्डितले कला, प्रतिभाको माध्यमबाट अन्तराष्ट्रमा गएर नेपाल र नेपालीको नाम राख्न पाउदाको खुसी मात्र हैन, नेपालमा जन्मिएका शान्तिदुत बुद्धको मुर्ती, त्यो पनि उन्नाईसौ, बिसौं, एक्काइसौं सताब्दीकै सबैभन्दा ठूलो निर्माण गर्ने अवसर पाउदाको गौरबले छाति फुलेको बताउनुभयो । पहाराको ढुंगा फुटाएर बुद्ध आकृति निकाल्नु आफैमा कठीन र चूनौतीपूर्ण रहेपनि देशको गौरबका लागि एउटा गतिलो अवसरको रुपमा ग्रहण गरेर काम गरिरहेको पण्डितले बताउनुभयो । “सुरुमै काम र ठामको बारेमा सुन्दा निकै कठीन र चुनौतीपूर्ण छ भन्ने बुझेका थियौं, तर यसलाई नै राष्ट्रिय गौरबको अवसरको रुपमा लिएर काम थाल्यौं” जापानमा मुर्ती बनाउदाको अनुभव सुनाउदै उहाँले भन्नुभयो “त्यो हिउ परिराख्ने ठाउँ हो, स्काफोल्डिङमा बसेर काम गर्नुपर्छ । कठिन भएपनि जाँगर मर्दैन ।” पाँचवर्षमा पुरा गर्ने लक्ष लिएको टिमले मुख्य बुद्धमुर्ती वाहेक अन्य दुईओटा ४० फुटको र अन्य साना ४ वटा गरी सात वटा मुर्ती निर्माण गरिरहेको उहाँले बताउनुभयो ।

आफू कलाकार हुनुमा गौरब गर्नुहुने उहाँले आप्mनो कलाबाट नै देशलाई चिनाउने र योगदान दिने बताउनुहुन्छ । कलाकार बाचुन्जेल ठिकै भएपनि, जिवनपरन्त नाम निसाना मेटिने भएकाले त्यसलाई युगयुगसम्म जीवन्त राख्न उनीहरुको सालिक राज्यले स–सम्मान संरक्षण गर्नुपर्नेमा उहाँको जोड छ । त्यसका लागि उहाँले आप्mनो जीवनकालमा केही महत्वपूर्ण मुर्तीकृतिहरु उपहार स्वरुप राज्यलाई प्रदान गर्ने बताउनुभयो । “राज्यले वातावरण बनाईदिए जापानकै जस्तो नेपाली पहरामा पनि देशका लागि महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरुको मुर्ती बनाएर राज्यलाई उपहार प्रदान गर्ने धोको छ ।” पण्डितले भन्नुभयो ।

सीप सिकेर कहिल्यै पुरा नहुने बताउनुहुने पण्डितले श्रमलाई सम्मान गर्ने जापानमा आफुहरुलाई सिपालु र प्रशिक्षणयुक्त कलाकार भनेर काममा लगाएको भएपनि त्यहाँको प्रविधि, जुन नेपालमा नरहेकाहरु बारे जान्ने मौका मिलेको बताउनुभयो । जापनबाट फर्केपछि आप्mनै देशका डाँडाकाडा, पहराहरुमा पनि त्यसखालको प्रविधि अपनाएर सजिलै राम्राराम्रा मुर्तीकृति निर्माण गर्न सकिने उहाँले बताउनुभयो । त्यसका लागि राज्यले वातावरण सिर्जना गरिदिनुपर्ने उहाँको भनाई छ ।

भिडियो