Tuesday, March 25News That Matters

२३ वटा ट्याक्टर प्रहरीको कब्जामा

गाईघाट–जिल्ला प्रहरी कार्यालय उदयपुरले अबैध ढुंगा गिट्टी, बालुवा निकासी गर्ने २३ वटा ट्रक्याक्टर पक्राउ गरेको छ । प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार सुक्रबारसमेत गरी दुई दिनमा ती ट्याक्टरहरु पक्राउ परेका हुन् । असोज १ गतेदेखि सम्झौतानै नगरी निरन्तर रुपमा विभिन्न खोलाहरुबाट बालुवा, गिट्टी, ढुंगा निकाली गर्ने ट्रयाक्टरहरुमाथि निगरानी बढाइ पक्राउ गरिएको एसपी भट्टले बताए ।

स्थानीयहरुका अनुसार दिनहु दर्जनौं टयाक्टरले चोरी निकासी गर्नाले जिल्लाभित्र दैनिक लाखौं मूल्य बराबरको ढुंगा, गिट्टी अवैध रुपमा निकासी हुने गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । रातीरातीसमेत खोलाबाट अबैंधरुपमा निकासी गर्ने गरिएको स्थानीयहरुले बताए ।

स्थानीयका अनुसार विगतमा प्रहरीले पक्राउ गरेपनि सामान्यरुपमै छाडिदिने गरेको थियो । सम्बन्धीत निकायको फितलो कारवाहीलाई अटेर गर्दै ट्याक्टर व्यवसायीहरुले दिन दहाडै चोरी निकासी गर्दथे । चोरी निकासीका गिटि बालुवा तेब्बर भन्दा बढि मूल्यमा उपभोक्ताले किन्नुपर्ने बाध्यता थियो । निर्माणका लागि प्रयोगमा आउने ढुंगा गिट्टी, बालुवा प्रतिट्याक्टर दुई हजार देखी चार हजारसम्म मूल्य ढुवानीकर्ताले असुल्ने गरेका थिए । पक्राउ परेका ट्याक्टरहरु प्राय ठेकेदारहरुकै भएको जनाईएको छ ।

तर, ठेकेदार कम्पनीले सम्झौता पक्रिया पुरा नगरिकनै ढुंगागिट्टी, बालुवा निकासी गर्न थालेपछि प्रहरीको सहयोगमा पक्राउ गरिएको स्थानिय विकास अधिकारी गणेश दाहालले बताए । पक्राउ परेका ट्याक्टरहरुबाट पाँच हजारका दरले जरीवाना असुल गरिने उनले बताए ।

ठेकेदारद्वारा सम्झौतामा ढिलाई

जिल्ला समन्वय समिति उदयपुरले आर्थिक बर्ष २०७४।०७५ का लागि असोज १ गतेबाट लागू हुनेगरी गिट्टि, ढुंगा, बालुवा निकासीको ठेक्का लगाईसकेको जनाएको छ ।

ठेकेदार छनौटको सवै प्रक्रियाहरु पुरा भईसकेपनि ठेकेदार कम्पनीले सम्झौता गर्न ढिलाई गरिरहेको समन्वय समितिका स्थानिय विकास अधिकारी गणेश दहालले बताए । जिल्लाको ५ वटा क्षेत्रका लागि बोलपत्र आव्हान भई ठेकेदार कम्पनी छनौट प्रक्रिया भएको जनाइएको छ ।

जिल्लाको प्रमुख स्थानहरु गाईघाट, लेखानी, कटारी, बेल्टार र बेलका नगरपालिका क्षेत्रमा रहेका खोला नालाहरुबाट ढुंगा गिट्टी, बालुवा निकासीका लागी ४ वटा ठेकेदार छनौट गरिएको जनाएको छ ।

नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले बर्षाको मौसममा जोखिम बढी हुने र भुक्षयसमेत अत्यधिक हुने भएकोले भदौं समान्तसम्म स्थानीय खोलाहरुबाट ढुंगा गिट्टी, बालुवा निकासीमा रोक लगाएको थियो ।

स्थानीय स्वायत्त शासन ऐन, २०५५ र स्थानीय स्वायत्त शासन (चौथो संशोधन) नियमावली ,२०५६ र स्थानीय निकाय आर्थिक प्रशासन सम्बन्धी नियमावली २०६४ बमोजिम जिल्ला समन्वय समिति उदयपुरको क्षेत्राधिकारभित्र पर्ने नदि तथा खोलाहरुको स्वीकृत प्रतिवेदनमा उल्लेख भएका स्थान र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिबाट सहमति प्राप्त स्थानहरुबाट ढुँगा, गिट्टी, बालुवा, उत्खनन् तथा संकलन गरी विक्री तथा निकासी कर उठाउने ठेक्का बन्दोवस्त गर्ने गरिएको छ ।

ढुँगा, गिट्टी, बालुवा, उत्खनन् तथा संकलनका लागि जिल्ला समन्वय समितिले छुट्याएको ४ वटा क्लष्टरहरुमा प्रति क्लष्टर कम्तीमा बार्षिक ४५ लाखको ठेक्का लाग्ने गरेको छ । यसरी हेर्दा जिल्ला भित्र बार्षिक एक करोड ८० लाख बराबरको ढुँगा, गिट्टी, बालुवा, उत्खनन् तथा संकलनका लागि ठेक्का लाग्ने गरेको छ ।

प्रकाशित मिति – २०७४ असोज ७ गते