पूर्णपुष्टि, असार १९
प्रधानमन्त्रि तथा नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविच बालुवाटारमा भएको छलफल सकिएको छ । करिब सवा दुई घण्टा लामो भएको छलफलको निस्कर्षबारे जानकारी गराइएको छैन । बिहान साढे ११ बजेबाट शुरु भएको वार्ता सवा २ बजे सकिएको थियो ।
अध्यक्षद्वयसँग महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरको पनि उपस्थिति रहेको जनाईएको छ । पार्टीभित्र असमझदारी बढेपछि त्यसलाई सल्टाउन दुई अध्यक्षबीच निर्णायक वार्ता भएको बुझिएको छ । तर बैठकमा भएको निर्णयबारेको जानकारी नगराइएपछि बैठकमा के भएको हो भन्ने खुलेको छैन ।
दलका नेताहरूले दुई अध्यक्षबीच सहमति हुनुपर्ने र पार्टी फुट्नबाट जोगाउनुपर्ने दबाव दिइरहेका बेला दुई अध्यक्षबीच वार्ता भएको हो । शनिबार बिहान ११ बजे पार्टीको स्थायी कमिटीको बैठक आव्हान गरिएको छ । सोअघि सहमतिमा पुग्नैपर्ने दबाव अध्यक्षहरूलाई छ ।
आज बिहानदेखि दोस्रो पुस्ताका नेताहरूको पनि सक्रियता बढेको छ । दुई पक्षीय नेताहरू एकै ठाउँमा जम्मा भएर छलफल गरिरहनुभएको छ । दुई अध्यक्षको नेतृत्वमा पार्टी एकता गरिएकाले अहिले देखिएको समस्याको समाधान पनि दुई अध्यक्षले दिनुपर्ने सुझाव दोस्रो पुस्ताका नेताहरूको छ ।
